बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी नायब निरीक्षक सुरज सिंहका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप राति करिब ११ बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी जिप चालक २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।

मृतकको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । आजै पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनाका कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण भित्री सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.