सुदूरपश्चिममा १ सय ४४ उम्मेदवारको धरौटी जफत

मोहन पनेरु
डोटी ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा गरी १ सय ४४ जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन आयोगको प्रावधानअनुसार कुल सदर मतको दश प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।
निर्वाचन परिणामअनुसार प्रदेशका विभिन्न जिल्लामा ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो। प्रदेशभर सबैभन्दा धेरै उम्मेदवारको धरौटी कैलालीमा जफत भएको छ भने सबैभन्दा कम बझाङमा रहेको देखिएको छ।
तथ्यांकअनुसार कैलालीमा ३ लाख ५ हजार १ सय २२ मत खसेकोमा ५५ जना उम्मेदवारको धरौटी जफत भएको छ। त्यस्तै कञ्चनपुरमा १ लाख ८४ हजार ३ सय १६ मत खसेकोमा ४० जना उम्मेदवारको धरौटी जफत भएको छ।
त्यसैगरी अछाममा ६४ हजार ७ सय ८० मत खसेकोमा ९ जनाको, डोटीमा ५२ हजार ४ सय ८५ मत खसेकोमा ५ जनाको, बाजुरामा ४६ हजार २ सय ३२ मत खसेकोमा ५ जनाको धरौटी जफत भएको छ।
यस्तै बैतडीमा ७३ हजार १ सय ४८ मत खसेकोमा ७ जनाको, दार्चुलामा ४९ हजार ९ सय ६८ मत खसेकोमा ७ जनाको, डडेल्धुरामा ४५ हजार ९ सय ९ मत खसेकोमा १० जनाको तथा बझाङमा ५२ हजार २ सय १७ मत खसेकोमा ३ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ।
जिल्लागत रूपमा हेर्दा बाजुरामा प्रकाश बहादुर शाह (नेपाल कम्युनिष्ट पार्टी) ३,३०१ मत, केशर बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३५२ मत, भुपेन्द्र ल्वार (नेपाल कम्युनिस्ट पार्टी–माओवादी) २३३ मत, दिपक कुमार डीसी (प्रगतिशील लोकतान्त्रिक पार्टी) ९७ मत र उपेन्द्र शाही (स्वतन्त्र) ७२ मत ल्याउँदै धरौटी जफत भएका छन्।
अछाम–१ मा ओमप्रकाश रावल (राष्ट्रिय स्वतन्त्र पार्टी) १,७३९ मत, लोकेन्द्र बहादुर शाह (राष्ट्रिय प्रजातन्त्र पार्टी) १०२ मत, लोकेन्द्र बहादुर शाही (नेपाल कम्युनिस्ट पार्टी–माओवादी) ७५ मत, भिम बहादुर कुँवर (स्वतन्त्र) ४१ मत र सुरेन्द्र शाही (नेपाल मजदुर किसान पार्टी) १० मत ल्याउँदै धरौटी जफत भएको छ।
अछाम–२ मा शेर बहादुर विक (नेपाल कम्युनिस्ट पार्टी–माओवादी) ५५८ मत, मिन बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) १६७ मत, पुष्पराज न्यौपाने (प्रगतिशील लोकतान्त्रिक पार्टी) ११३ मत, झंकर बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) ६० मत र राजेश रावल (स्वतन्त्र) ५२ मत ल्याउँदै धरौटी जफत भएको छ।
डोटीमा खडक बहादुर अग्रवाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) ५९४ मत, मणिराज भट्ट (राष्ट्रिय जनमोर्चा) ४१७ मत, प्रकाश कठायत (नेपाल कम्युनिस्ट पार्टी–माओवादी) ३९२ मत, सरस्वती कुमारी पाल मल्ल (मितेरी पार्टी नेपाल) ४३ मत र खगेन्द्र बहादुर शाही (नेपाल मजदुर किसान पार्टी) ३२ मत ल्याउँदै धरौटी जफत भएको छ।
डडेल्धुरामा चक्र प्रसाद स्नेही (नेपाल कम्युनिष्ट पार्टी एमाले) २,९२६ मत, गोविन्द खडायत (राष्ट्रिय प्रजातन्त्र पार्टी) ८८२ मत, गोरख बहादुर ऐर (स्वतन्त्र) ४५३ मत, महेन्द्र पुन मगर (श्रम संस्कृति पार्टी) २६० मत, लक्ष्मी दत्त भट्ट (जय मातृभूमि पार्टी) ११७ मत, तिर्थराज उप्रेती (स्वतन्त्र) १०७ मत, चन्द्र देव विक (राष्ट्रिय जनमोर्चा) १०६ मत, सुरेन्द्र राज भट्ट (नेपाल मजदुर किसान पार्टी) ७० मत, सुरेन्द्र रावल (स्वतन्त्र) ३३ मत र खडक बहादुर ठकुराठी (आम जनता पार्टी) २७ मत ल्याउँदै धरौटी जफत भएको छ।
त्यसैगरी बझाङ, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरका विभिन्न निर्वाचन क्षेत्रमा पनि ठूलो संख्यामा उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ।
समग्रमा सुदूरपश्चिम प्रदेशभर ठूला दल बाहेक साना दल तथा स्वतन्त्र उम्मेदवारले पर्याप्त मत प्राप्त गर्न नसक्दा ठूलो संख्यामा उम्मेदवारको धरौटी जफत भएको देखिएको छ।

Leave A Reply

Your email address will not be published.