डोटीमा पहिलो पटक इलाका प्रशासन कार्यालय स्थापना, विपिनगरबाट सेवा सुरु

डोटी जिल्लामा पहिलो पटक इलाका प्रशासन कार्यालय स्थापना भई सेवा सञ्चालनमा आएको छ। इलाका प्रशासन कार्यालय विपिनगरमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा एक समारोहका बीच उद्घाटन गरिएको हो। कार्यालय स्थापना भएसँगै स्थानीय नागरिकलाई अब जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता काफ्लेले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गरिएको बताए। उनले दुर्गम क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै सरकारले सेवा प्रवाहलाई स्थानीय तहसम्म पु¥याउने नीति अनुरूप यो कार्यालय सञ्चालनमा ल्याइएको स्पष्ट पारे।नयाँ कार्यालयबाट जोरायल, बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाका वडा नं। १, २ र ३ का बासिन्दाले प्रत्यक्ष रूपमा सेवा लिन सक्नेछन्। यस क्षेत्रका नागरिकले अब नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यता हट्ने भएको छ।कार्यक्रमकै अवसरमा बडीकेदार गाउँपालिका वडा नं। १ निवासी सोबिता बोहरालाई प्रमुख अतिथिबाट नागरिकता प्रदान गर्दै सेवा शुभारम्भ गरिएको छ। पहिलो सेवाग्राहीका रूपमा बोहरालाई नागरिकता प्रदान गरिनु प्रतीकात्मक रूपमा सेवा सुरु भएको घोषणा गरिएको हो।स्थानीय बासिन्दाले इलाका प्रशासन कार्यालय स्थापना भएसँगै आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। यसअघि सामान्य कामका लागि समेत सदरमुकाम धाउनुपर्दा समय र खर्च दुबै बढ्ने गरेको उनीहरूको गुनासो थियो। अब भने नजिकैबाट सेवा पाउने भएपछि दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरेका छन्।
डोटी जिल्लामा प्रशासनिक सेवा विस्तारका लागि यो महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। स्थानीय तहसँग सहकार्य गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना रहेको सम्बन्धित निकायले जनाएको छ।

Leave A Reply

Your email address will not be published.