आइतबार बिदा कार्यान्वयन नगर्न शिखरको आग्रह

आइतबार बिदा कार्यान्वयन नगर्न शिखरको आग्रह

इन्द शाही
डोटीको शिखर नगरपालिका ले आइतबार विद्यालय बन्द गर्ने संघीय निर्णय कार्यान्वयन नगर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाई पत्राचार गरेको छ। नगर प्रमुख दीर्घबहादुर बलायर ले पठाएको पत्रमा आइतबार बिदा दिँदा वार्षिक पठनपाठन दिन अत्यन्तै घट्ने भन्दै पुनर्विचार गर्न आग्रह गरिएको छ।नगरपालिकाले पत्रमार्फत बिदाको विस्तृत गणना प्रस्तुत गर्दै ३६५ दिनमध्ये ५२ दिन शनिबार र ५२ दिन आइतबार बिदा हुँदा मात्रै १०४ दिन बिदा हुने उल्लेख गरेको छ। त्यसमा प्रदेशस्तरका ३२ सार्वजनिक बिदा जोडिँदा १३६ दिन पुग्ने र शिक्षा नियमावली २०५९ अनुसार दशैं बिदा ५ दिन, हिउँदे वा वर्षे बिदा ४५ दिन तथा स्थानीय बिदा ५ दिन थपिँदा कुल बिदा १९१ दिन पुग्ने जनाइएको छ।यसरी गणना गर्दा विद्यालय खुल्ने दिन १७४ मात्र बाँकी रहने र यो शिक्षा नियमावली २०५९ को नियम ८४ (५) अनुसार कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने प्रावधानसँग मेल नखाने नगरपालिकाको दाबी छ। ‘विद्यालय खुल्ने दिन १७४ मात्रै रहन्छ,’ पत्रमा भनिएको छ।नगरपालिकाका अनुसार ती दिनमध्ये पनि परीक्षा सञ्चालनमा करिब २१ दिन खर्च हुने र वैशाख मध्यअगाडि तथा वार्षिक परीक्षा पछि गरी कम्तीमा १५ दिन पठनपाठन नहुने हुँदा प्रभावकारी कक्षा सञ्चालनका लागि १३८ दिन मात्रै उपलब्ध हुने अवस्था देखिन्छ।अतिरिक्त क्रियाकलाप, परीक्षा तयारी, नतिजा प्रकाशन, शिक्षक बिदा तथा विद्यार्थी अनुपस्थितिलाई समेत जोड्दा खुद पठनपाठन समय झनै न्यून हुन्छ,’ पत्रमा उल्लेख छ, ‘यस्तो अवस्थामा शैक्षिक सत्र व्यवस्थापन निकै जटिल हुने देखिन्छ।’नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर पठाइएको पत्रमा शैक्षिक सत्र सुरु भइसकेको सन्दर्भमा वार्षिक कार्यतालिका र शैक्षणिक योजना निर्माणमा समेत असर पर्ने भएकाले समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरिएको छ।नगर प्रमुख बलायरले संघीय सरकारले निर्णय सच्याउन नसके नगरपालिका आफैंले आवश्यक निर्णय गर्ने संकेत गरे। ‘हामीलाई विद्यालय र बालबालिकाको पढाइप्रति चिन्ता छ,’ उनले भने, ‘पर्याप्त पठनपाठन सुनिश्चित गर्नुपर्ने भएकाले आवश्यक परे स्थानीय तहबाटै निर्णय गर्न सक्छौं।’उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाई डोटी लाई बोधार्थ दिइएको नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.