डोटी — गाउँका बिरामी, गर्भवती महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा वर्षौंदेखि निरन्तर खटिँदै आएकी स्वास्थ्यकर्मी निरा भण्डारी बलायर विश्व नर्सिङ दिवस २०८३ का अवसरमा सम्मानित भएकी छन्।
श्री नवदिप बोर्डिङ स्कुल ले आयोजना गरेको कार्यक्रममा गाउँकै स्वास्थ्य चौकीमा कार्यरत निरा भण्डारी बलायरलाई खादा, अबिर तथा सम्मानपत्रसहित सम्मान गरिएको हो।
के आईसिंह गाउँपालिका–६, सलेना निवासी बलायर २०६७ साल फागुन ११ गतेदेखि उक्त स्वास्थ्य चौकीमा कार्यरत रहँदै आएकी छन्। लामो समयदेखि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिँदै आएकी उनी स्थानीयवासीका लागि भरोसायोग्य स्वास्थ्यकर्मीका रूपमा परिचित छिन्। सामान्य उपचारदेखि सुत्केरी सेवा, खोप अभियान तथा आकस्मिक अवस्थासम्ममा उनी निरन्तर सेवामा खटिने गरेको स्थानीयहरू बताउँछन्।
विशेष महत्व बोकेको उक्त स्वास्थ्य चौकी डोटी जिल्लामै सबैभन्दा पहिले बर्थिङ सेन्टर स्थापना भएको स्वास्थ्य संस्था समेत मानिन्छ। ग्रामीण महिलालाई सुरक्षित प्रसूति सेवामा पहुँच पुर्याउन उक्त बर्थिङ सेन्टरले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ।
कार्यक्रममा बोल्दै वक्ताहरूले दुर्गम क्षेत्रमा बसेर स्वास्थ्य सेवा दिनु ठूलो चुनौती भए पनि बलायरले निरन्तर समर्पणका साथ काम गरिरहेको बताए। उनीहरूले नर्सिङ पेशा मानव सेवा र त्यागसँग जोडिएको उल्लेख गर्दै यस्ता स्वास्थ्यकर्मी समाजका प्रेरणाका स्रोत भएको धारणा राखे।
सम्मान ग्रहणपछि बलायरले स्थानीयको विश्वास र माया नै आफ्नो काम गर्ने प्रेरणा भएको बताइन्। उनले आगामी दिनमा पनि अझ जिम्मेवार भएर स्वास्थ्य सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरिन्।
विश्व नर्सिङ दिवसको अवसरमा गरिएको उक्त सम्मान कार्यक्रमले ग्रामीण क्षेत्रमा सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको योगदानलाई उजागर गर्नुका साथै समाजमा स्वास्थ्य सेवाप्रतिको सम्मानभाव अझ बढाएको सहभागीहरूले बताएका छन्।