अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न समन्वयात्मक बैठक सम्पन्न

भाद्र ८ सोमबार,

सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी को आयोजनामा शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न समन्वयात्मक बैठक आज सोमबार शिखर नगरपालिकामा सम्पन्न भएको छ ।
अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न समन्वयात्मक बैठक शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराको संयोजकत्वमा बसेको थियो भने बैठमा प्रमुख अतिथि शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर, अतिथि प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकाका विभिन्न शाखाका प्रमुख गरी २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अपांगता अधिकारकर्मि एवं सुदूरपश्चिम प्रदेश अपांग महासंघका अध्यक्ष नन्द राज भट्टले सहजीकरण गर्नुभएको थियो ।
शिखर नगरपालिकामा रहेका अपांगता भएका ब्यक्तिहरुको अवस्था, आवश्यकता, समस्या, उपलब्ध सेवा तथा अवसरहरुको तथ्यांक र विश्लेषणात्मक विवरण तथा अपांगता प्रोफाईल निर्माण गरी अपांगता भएका ब्यक्तिहरुको संख्या अपांगताको प्रकार, उमेर, लिंग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहायक सामाग्रीको आवश्यकता पहुँचयुक्त वातावरण तथा अन्य सामाजिक आर्थिक अवस्था बारे विस्तृत जानकारी प्रदान गर्न शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न लागिएको कार्यक्रम संयोजक भक्तराज उपाध्यायले बताउनु भयो । गणकहरु छनौट गर्नका लागि शिखर नगरपालिकाले सिफारिस गरेका १६ जना गणकहरुले एक्टिभिटि इन्फो विधि मार्फत अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न घरधुरी सर्वेक्षण गरेर तथ्यांक संकलन गर्नका लागि गणकहरुको मंगल र बुधबार २ दिने क्षमता विकास तालिम आयोजना गर्न लागिरहेको कार्यक्रम संयोजक भक्तराज उपाध्यायले जानकारी दिनु भयो ।
शिखर नगरपालिका मा अपांगता भएका ब्यक्तिहरुका अगुवाहरुले अपांगता भएका ब्यक्तिहरु माथि नै विभेदपुर्ण ब्यवहार गरेको, अपांगता का क्षेत्रमा नगरले हरेक वर्ष बजेट विनियोजन गर्दै आईरहेकाले आगामि दिनमा अपांगताका क्षेत्रमा काम गर्न अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण कार्यले सहज हुने नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनु भयो । अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण कार्यमा संस्थालाई आवश्यक पर्ने सहयोग गर्नका लागि पालिका तयार रहेको नगर प्रमुखले बताउनु भयो । अपांगता भएका ब्यक्तिहरुको ब्यवहारजन्य अवरोध, वातावरणिय अवरोध, सामाजिक अवरोध र भौतिक अवरोधहरु हटाउन विगत देखि काम गर्दै आएको जानकारी दिनुभयो ।
सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी र लुथरन वल्ड फेडरेसन नेपालको संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा दलित, सिएसओहरु र तिनीहरुका संजालहरुलाई सवल पार्दै सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्धर्न लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ गर्ने सक्षम परियोजना अन्तर्गत शिखर नगरपालिकामा अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्ने कार्य सुरु हुन लागेको हो ।शिखर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ का अनुसार शिखर नगरपालिकाको कुल जनसंख्या ३०३९९ मध्ये करिव २.८ प्रतिशत अर्थात ८५१ जना ब्यक्तिहरु अपांगता भएका ब्यक्तिहरु रहेको तथ्यांक रहेको छ ।
शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले कार्यक्रमका सहभागि सबैलाई धन्यबाद दिदै वडामा तथ्यांक संकलनका लागि परिचालन हुने गणकहरुलाई सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्न वडा बासि, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य सवयंसेविका लगायत सरोकारवाला सबैलाई अनुरोध गर्दै अपांगता भएका ब्यक्तिहरुको प्रोफाईल निर्माण गर्न आयोजित समन्वयात्मक बैठकको समापन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.