मोहन ठकुल्ला
मंसिर- २२, सिलगढी : सम विकास केन्द्र (ईडिसी) डोटीको वार्षिक सामाजिक परिक्षण तथा २५ औं वार्षिक साधाण सभाको शुभारम्भ भएको छ । विहिवार एक औपचारिक कार्यक्रम मार्फत लैङ्गिक असमानता, जातिय छुवाछूत तथा अन्य सामाजिक भेदभावजन्य व्यवहारको अन्य हामी सबैको सरोकार, लोकतन्त्र, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ दिपायल सिलगढी नगरपालिकाको सभा हलमा उद्घाटन भएको हो ।
कार्यक्रममा सम विकास केन्द्र (इडिसि) डोटीले वर्षभरीमा गरेका कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन २०७८/०७९ विमोचन गरेको छ ।
सामाजिक अभियानको रूपमा लागेको संस्थालाई २५ वर्ष पूरा भएको छ । छुवाछूतको अन्त्य होस्, समानरूपले सबैलाई हेर्ने दृष्टि बनोस्, महिला हिंसाको अन्त्य होस्, महिलाको क्षमता विकास होस् भन्ने उद्देश्यले विशुद्ध सामाजिक अभियानको रूमा कार्य गर्दै आएको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए । संस्थाले विभिन्न शिक्षा, स्वास्थ्य, घरेलु साना उद्योग, व्यापार व्यवसाय, लगायतका क्षेत्रमा समेत काम गर्दै आईरहेको र आगामी दिनहरूमा सम्बन्धित सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष बिसीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले समाजलाई अगाडि बढाउन कृषि तथा पशु व्यवसाय क्षेत्रमा लगानी लगाउनु पर्ने र यसले सामाजिक कार्यमा प्रभावकारीता बढ्ने बताए ।
संस्थाले गरेका काम प्रती धन्यवाद ज्ञापन गर्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले संस्थाले आगामी दिनहरूमा विभिन्न स्थानीय निकायसँग समन्वयमा बढि जोड दिदा लोकप्रियता बढ्छ र दलित तथा अन्य पछाडि परेका क्षेत्रको लागि शिक्षामा बढि जोड दिनु पर्ने बताए ।
उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संस्थाका साधारण सदस्य र कर्मचारी, संस्थाको कार्य क्षेत्रका जनसमुदाय, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । साधाणसभा शुक्रबार सम्पन्न हुने भएको छ ।