डोटीमा निःशुल्क पाँच दिने अर्थोपेडिक सर्जिकल स्वास्थ्य शिविर सुरु

डोटी,डोटीमा निःशुल्क पाँच दिने अर्थोपेडिक सर्जिकल शिविर सुरु भएको छ । जिल्ला अस्पताल डोटीमा आइतबारबाट निःशुल्क शिविर सुरु भएको हो । मेड-सोलुशन फाउन्डेसन स्वीजरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश ज्ञवाली सहितको २५ जनाको टोलीले सेवा दिइरहेको छ ।

शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा विकृति जन्य समस्याहरू, हात खुट्टा भाँच्चिएका, भाँचिएर बाङ्गिएर जोडिएका, रड, पाता वा किला निकाल्ने, आगोले पोलेको, हात खुट्टामा भएका गाँठा गुठीहरू निकाल्ने लगायतका सेवा प्रदान हुने छन् ।

पाँच दिनको अवधिमा कम्तीमा १३ सय जनासम्म जनरल बिरामी हेर्ने र ७० जनासम्मको अप्रेसन गर्ने लक्ष्य रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष धन बहादुर नेपालीले बताए । आर्थिक अभावमा कैयौँ व्यक्ति लामो समय देखि विभिन्न समस्या बोकेर बसिरहेकाले डेढ वर्षको प्रयासमा शिविरको आयोजना गर्न सफल भएको अध्यक्ष नेपालीले बताए ।

शिविर अवधिभर सबैको सहयोगको पाउने अपेक्षा राखेको शिविरका प्रमुख डाक्टर प्रकाश ज्ञवालीले बताए । शिविरमा बिरामीलाई दिइने सेवा बाहेक जिल्ला अस्पतालका डक्टरलाई अनुभव सियर गर्ने डा. ज्ञवलीले बताए ।

Leave A Reply

Your email address will not be published.