डोटीमा १८ हजार एक सय ९५ जना बालबालिकालाई। दादुरा रुबेलाको खोप लगाइने भएको छ । यही फागुन १३ देखी २० गतेसम्म सञ्चालन हुने दादुरा–रुबेला खोप अभियानबाट जिल्लामा उक्त सङ्ख्यामा खोप लगाइन लागेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । सन् २०२६ सम्ममा दादुरा रुबेला निवारण गर्ने सरकारको प्रतिबद्धता अनुरूप नियमित बाहेक प्रत्येक चार वर्षमा खोप अभियान सञ्चालन हुने गरेको छ।‘पूर्ण खोप लगाऔँ, बालबालिकाहरूलाई रोगहरूबाट सुरक्षित बनाऔँ’भन्ने नारासहित जिल्लाका नौ ओटै पालिकाका ३ सय ७८ खोप केन्द्रबाट खोप लगाइने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । यहाँका ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन लागिएको प्रमुख मलासीले बताउनुभयो । खोप अभियानको सम्पूर्ण तयारी भएको र प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक गरी ११ सय ३४ जनालाई खटाइने मलासीले बताउनुभयो ।स्वास्थ्य कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिकाका ३ हजार २ सय २९ जना, शिखर नगरपालिकाका एक हजार ८ सय ९८ जना, आदर्श गाउँपालिकाका २ हजार ६ सय ६९ जना, पुर्विचौकी गाउँपालिकाका दुई हजार २ सय ८५ जना र सायल गाउँपालिकाका २ हजार ७७ जना बालबालिकालाई खोप लगाइने भएको छ । त्यस्तै के.आई.सिंह गाउँपालिकाका एक हजार ८ सय ३७ जना, बोगटान फुड्सिल गाउँपालिकाका एक हजार ६ सय ३ जना, जोरायल गाउँपालिकाका एक हजार ५ सय ३३ जना र बडिकेदार गाउँपालिकाका एक हजार एक सय ६४ जनालाई खोप लगाइँदै छ ।