धन बोहरा डोटी । डोटी जिल्लाको अपराध सम्बन्धी आँकडा हेर्दा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।आर्थिक वर्ष ०७८/७९मा २२ जनाले आत्महत्या गरेको देखिन्छ त्यस्तै गरी आर्थिक वर्ष ०७९/८०मा १५जनाले आर्थिक वर्ष ०८०/८१मा २८जनाले र चालु आर्थिक वर्षको हालसम्म ८जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार जिल्लामा झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या बढी , विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरूको सङ्ख्यामा पनि बर्सेनि वृद्धि भइरहेको छ ।
मानिस बढी महत्त्वाकाङ्क्षी बन्दै जानु, मानसिक तनाव, बहु विवाह, आत्मग्लानि र गरिबी लगायतका कारण बर्सेनि आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै जानु जिल्लाको लागि राम्रो होइन आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सूक्ष्म रूपमा अध्ययन गर्दैछौ’ विभिन्न प्रविधिको विकाससँगै मानिसहरू एक्लै बस्ने, अभिभावक हरूको व्यस्तता, लागूपदार्थको सेवन, पढाइमा असफलता, पारिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारणले पनि मानिसले आत्महत्या गर्ने पाइएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार आत्महत्या गर्नेमा पुरुषहरूको भन्दा महिलाहरूको सङ्ख्या बढी रहेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८/७९ देखि चालु आ.व.को पुस महिना सम्ममा डोटीमा ७३ जनाले आत्महत्या गरेका छन् । अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरू वा सहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोस्टमार्टम लगायतका कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्ने झन्झटिलो र खर्चिलोमा लाग्नु भन्दा स्वाभाविक मृत्यु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरू अभिलेखमा आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो सङ्ख्या अझ बढी हुने सम्भावना देखिन्छ।