धन बोहरा डोटी,
नागरिक आरोग्य सेवा केन्द्र आदर्श गाउपालिका, डोटीको आयोजनामा कक्षा पाँच देखि आठसम्म अध्ययन गर्दै आएका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाबारे जानकारी प्रदान गरिएको छ। योग शिक्षाका महत्व, फाइदा र उपयोगिताबारे विद्यालयमा जानकारी गराउन यो कार्यक्रम आयोजना गरिएको नागरिक आरोग्य सेवा केन्द्र प्रमुख निर्मला भट्टले जानकारी दिनुभयो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका योग प्रशिक्षक बलदेव जोशीले आदर्श गाँउपालिकाको वडा नं ३ मा रहेको महादेव्यस्वर आधारमाभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षासम्बन्धी कार्यक्रम आयोजना गरेको जानकारी दिनुभएको छ।
कक्षा पाँचदेखि आठसम्म अध्ययन रत करिब ८५ जना भन्दा बढी विद्यार्थी र १२ जना शिक्षक शिक्षिकाहरुको बिचमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कासी राम पाठकले प्रशिक्षकले सिकाएका कुराहरु मन वचन र कर्मले जिवनमा लागू गरियो भने त्यसले ठूलो फाइदा गर्छ, राम्रो कुरो पाउन दुर्लभ छ नराम्रो कुरा पाउन सजिलो छ,हाम्रो मन वचन र कर्म नराम्रो तिर नजान दिनका लागि योगको ठूलो भुमिका रहेको कुरा बताउनु भयो। कार्यक्रममा सिकेका कुराहरुलाई शिक्षक विद्यार्थी सबैले दैनीक जीवनमा लागू गर्नुपर्ने कुरामा प्रधानाध्यापक पाठकले जोड दिनुभयो। शिक्षक टंक पाठले यो कार्यक्रमले विद्यालय परिवार र समुदाय लाभान्वित भएको बताउनु भएको छ।
योगले समुदायलाई, व्यक्तिलाई निरोगी रहन, आरोग्य रहन र आफ्नो कार्यप्रती कर्तव्यनिष्ट भइ आफ्नो कर्ममा दक्षता प्रदान गर्ने उनको भनाई थियो। कक्षा ८ मा अध्ययनरत विद्यार्थी मिना पाठकले योग जिवनका लागि नभई नहुने कुरा रहेको कुरा यो कार्यक्रमबाट जानकारी भएको बताउदै योग आयुर्वेद हाम्रो मौलिक संस्कृती भएको र यसको जिवनमा यसको प्रयोगले शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुन ठूलो महत्त्व रहेको कुरा योग प्रशिक्षण बाट सिक्न पाएको उनले बताईन् विद्यार्थीहरुलाई योग तथा आयुर्वेद शिक्षा र उपचार विधिबारे जानकारी गराउँदा घरपरिवारका सदस्यलाई पनि सहजै जानकारी हुने भएकाले पनि यो कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ।
विद्यालयमा अध्ययन रत रहेका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई आयुर्वेद र योग शिक्षाबारे जानकारी गराउँदा यसको सकारात्मक प्रभाव पर्ने भएकाले तिन दिने कार्यक्रम राखिएको नागरिक आरोग्य सेवा केन्द्र आदर्शले जनाएको छ। कार्यक्रममा विद्यालयका ८५ जना भन्दा बढी विद्यार्थी र शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो।