डोटीको पुर्वीचौकी गाउँपालिक_१ खिरसैनलाई बालमैत्री वडा घोषणा गरिएको छ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक मध्ये ४८ सुचक पूरा गरेसँगै वडा नम्बर १लाई डोटी जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो। बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ।पाँच सय घरधुरी रहेको वडा नं. १ मा २हजार ८सय १०जनसंख्या रहेको छ। ५१ सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खाएको हुनुपर्ने व्यवस्था छ। बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधितको आधार तयार भएपछि एक कार्यक्रमका बिच आज (शनिबार ) सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेघराज खडकाले बालमैत्री वडा घोषणा गर्नुभएको हो।कार्यक्रममा बोल्दै मन्त्री खड्काले समृद्ध नेपाल बनाउनको लागि बाल मैत्री स्थानीय शासन आवश्यक रहेको बताए । बाल मैत्री स्थानीय शासन घोषणा अभियानलाई पूर्णता दिन स्थानीय ,प्रदेश र संघ सरकार लाग्नु पर्ने मन्त्री खड्काले जोड दिनुभयो। कार्यक्रममा आफनो शुभकामना मन्तब्य राख्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले आजका बालबालिका भबिष्यका कर्णधार भएकाले शिक्षामा लगानी लगाउन पर्नेमा जोड दिदै। अभियानलाई जिल्ला भरी अगाडी बढाउनु पर्ने सिंहले बताउनुभयो ।
५१ ओटा सूचक अन्तर्गत ८८ प्रतिशत भन्दा बढी सूचक पुरा गरेकाले सो वडा बालमैत्री घोषणा गरेको बताउँदै आगामी दिनमा पालिका सबै वडा र पालिकालाई गर्ने अभियान अगाडी बढाएको अध्यक्ष राम उपाध्यायले बताउनुभयो।बालमैत्री वडा घोषणा पश्चात् यहाँका बालबालिकामा विभेद,डर, त्रास र हिंसाबाट मुक्त भएको पालिका अध्यक्ष उपाध्यायले बताउनुभएको छ।
बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडा अध्यक्ष अंक बहादुर खडकाले बताउनुभयोे। बालबालिकाको आवाज र विचारलाई बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिइएको उहाँले बताउनु भयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले घोषणासँगै त्यसको दिगोपना हुने गरी काम गर्न अनुरोध गर्नुभयो। उहाहरूले अभियान सफल हुनु आफैंमा सुन्दर पक्ष भएपनि दिगोपनाको अभावमा पुरानै अवश्थामा फर्किने भएकाले त्यसप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सूचकअनुसार आर्थिक, भौतिक र सांस्कृतिक रूपमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रम, डेउडा भुवा नाच, झाकी प्रर्दशन गरिएको
थियो।