इन्द् ब शाही
डोटी,
डोटीको शिखर नगरपालिका–१, कपल्लेकी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै उक्त स्वास्थ्य शिविर वडा नं १ मा , मेरो माइक्रो फाइनान्स र शैलेश्वरी अस्पतालको आयोजना तथा वडा कार्यालयको सहकार्यमा सञ्चालन हुन लागेको वडा अध्यक्ष दीपक ब. बोगटीले जानकारी दिनुभएको छ। वडा भित्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न लागिएको उहाँले बताउनुभयो। शिविरबाट विशेष गरी विपन्न तथा दुर्गम क्षेत्रमा रहेका नागरिकहरू लाभान्वित हुने छन ।
शैलेश्वरी अस्पतालका सञ्चालक आइजङ कुवरले निजि अस्पतालहरूको सामाजिक उत्तरदायित्वबारे प्रकाश पार्दै भन्नुभयो, नेपाल सरकारको नियमअनुसार निजि अस्पतालले १०% सेवा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गर्नुपर्ने हुन्छ। यसै अनुरूप, वडा कार्यालयको भौगोलिक अवस्था, दुर्गम क्षेत्रका बासिन्दा, आर्थिक रूपले कमजोर तथा पछाडि परेका वर्गलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिने भएको छ।