डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन भएको छ । शिबिरमा ३६५ जनाले सेवा लिएका छन् ।
वडा कार्यालय र शैलेश्वरी अस्पताल दिपायलको संयुक्त सहकार्यमा कपल्लेकी स्वास्थ्य चौकीमा स्वास्थ्य शिबिर संचालन भएको हो ।
वडा कार्यालयले शैलेश्वरी अस्पतालसंग गरेको सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो शनिबार र तेस्रो शनिबार कपल्लेकी स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टर सहितको टोलीले स्वास्थ्य शिबिर संचालन गर्ने अध्यक्ष दिपक बोगटीले जानकारी दिएका छन् ।
फागुनको पहिलो शनिबार भएको शिबिरमा वडा भित्रका ३६५ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमा उल्लेख्यमात्रामा महिलाहरु रहेका अध्यक्ष बोगटीले बताए ।
शिबिरमा अधिकांश महिलाहरु पाठेघरको समस्या, पेट सम्बन्धिको समस्या भएका आएका थिए भने केही रुघाखोकी, नशा सम्बन्धिका बिमारीहरु आएका शैलेश्वरी अस्पतालका संचालक आईजंग कुँवरले बताए ।
आगामी दिनमा पनि शिबिरलाई निरन्तर अगाडि बढाउने र कस्ता किसिमका बिरामीहरु बढी मात्रामा देखिए सोही अनुसार बिशेषज्ञ डाक्टरहरु ल्याएर सेवा संचालन गरिने अध्यक्ष बोगटीले जानकारी दिए । उनले निरन्तर स्वास्थ्य शिबिर संचालनका लागि अन्य अस्पताल तथा अन्य निकायसंग समेत सहकार्यका लागि कुरा भइरहेको बताए ।