धन बोहरा डोटी,
गरिब विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम डोटीको आदर्श गाउँपालिकामा प्रभावकारी बन्दै गएको छ । ‘अति गरिब विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार गाउँपालिकामा सञ्चालन गरिएका सीप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन् । अहिले महिला चुलो, चौको र पुरुष घरको अरू काममा मात्रै सीमित हुँदैनन् उनीहरू धमाधम सीप सिक्न व्यस्त छन् ।
फेबृक बनाउने तालिममा सहभागी सारदा खड्का भन्छिन् महिलाहरू श्रीमान्मै आत्मनिर्भर रहँदै आए पनि अब सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । खड्काका अनुसार, ‘हामी कहिलेसम्म आफ्नो श्रीमानको भरमा बाँच्ने, अब सीप सिकेपछि केही उद्यम गर्नेछौ, महिला कमजोर छैनौँ भन्ने यो समाजलाई देखाउनेछौँ ।’ आदर्श गाउँपालिकामा अति विपन्न तथा गरिब, अपांग असहायलाई छनोट गरेर सीप विकास तथा रोजगार विकास कार्यक्रम तालिम सञ्चालन भइरहेका छन् ।
वडा–५ का सिव रोकाया पनि अहिले तीन महिने तालिममा व्यस्त छन् । ‘पहिला गाउँमा रोजगारी नहुँदा ज्याला मजदुरी गर्नका लागि भारतमा जाने उनि अहिले आफू आत्मनिर्भर कसरी बन्ने, व्यापार कसरी गरिन्छ, कच्चा पदार्थ कहाँबाट ल्याउने, ग्राहकलाई कसरी आकर्षण गर्ने, व्यवसाय कसरी फस्टाउने भन्ने जानकारी भएको सुनाउँछन् अब आफ्नै गाउँमा बसेर आफू उद्यमी बन्छु’, उनी भन्छन् ।कार्यक्रमले सिव जस्ता धेरै जनाको क्षमताको विकास त गरेको छ, नै समाजमा अतिविपन्न गरिब र केही गरेर खाई नसक्ने हात खुट्टा गुमाएका अपांगलाई समेत कार्यक्रमले सहज बनाएको छ, महिला पुरुष एकआपसमा सहकार्य गर्दै अगाडि बढ्न सकियो भने मात्र समाज समृद्ध बन्छ । अब हामीजस्ता उद्यमीहरूले उत्पादन गरेका बस्तुहरूको बजारीकरण र उचित मूल्य प्राप्तिको वातावरण बनाइदिनुपर्ने तालिमका सहभागीहरू बताउँछन् । आदर्श गाउँपालिका सबै वडामा सञ्चालन गरिएको यो कार्यक्रमअन्तर्गत यस वर्ष मसला उधोग, दुना टपरी उधोग ,फेबृक झोला उधोग चप्पल उधोग, सिलाइ, बुनाइ, कम्प्युटर सीप, डल कुसन लगायतका सीपमूलक तालिम प्रदान गरिरहेको आदर्श गाउँपालिका लघु उद्यम विकास सहजकर्ता जय बहादुर थापाले बताए । उनका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सात वटै वडामा नयाँ उद्यमी सिर्जना गरिनेछ ।तालिमबाट सीप सिकेर अहिले अधिकांश महिलाहरूले स–साना उद्यम गरेर आफ्नो जीविकोपार्जन तथा स्वरोजगार बनेका छन् । उनीहरूले आफ्नो जीवनस्तरसमेत उकास्न सफल भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खडकाले बताए ।
उनले भने, गाउँपालिकाले आर्थिक रूपमा बलियो बनाउन आयआर्जन तथा उद्यमशीलता तालिमबाट स्वरोजगार बनाउन सरकारले खर्च गरेको पैसाले तालिम सिकेर व्यवसाय सुरु गर्नेलाई थप सीप सिकाइने र औजारको लागि बजेटको व्यवस्था गर्न अन्य निकायसमक्ष समन्वय गरिनेछ । गाउँमै पाउने कच्चा पदार्थ बाँस, निगालो, अल्लो, लगायतबाट तयारी सामग्री उत्पादन गरेर बिक्री वितरणका लागि बजारीकरण गरी आर्थिक हिसाबमा बलियो बनाई गरिब असहायलाई उद्यमी बनाउन यो कार्यक्रमले टेवा पुग्नेछ ।