हर्षोल्लासका साथ मनाइँदै, सुदूरपश्चिममा ‘पुसे १५’

आज पुस १५ सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासका साथ मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्वलाई डोटेली लोकसंस्कृतिमा पुसे १५ अथवा पन्नरकी रात भनिन्छ ।

डोटेली लोकसंस्कृतिको मौलिक पन बोकेको यो पर्वलाई पुुुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा प्रत्येक वर्ष मनाइदै आएकाे पाइन्छ । रातिको समयमा एक ठाउँमा भेला भएर गरिने संस्कृतिका विविध गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।

यो पर्वमा टाेल अथवा समुदायका मानिसहरू एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने गर्दछन् । जाग्रमसँगै तरुल (तउड) पिडालु (पिडेउ) सखरखण्ड ( सरकिन्ना ) लगायतका कन्दमूलका साथै पाकेको फर्सी (भुजाे) उसिनेर खाने, लाउन, बाबर, माणा, भक्के राेटी, भुजेराेटी लगायतका डोटेली खानाका मीठा परिकार पकाइ खाने र वृद्धवृद्धाबाट लोक कथा( दन्त्य कथा) सुन्ने सुनाउने प्रचलन रहेको छ । पर्व मनाउन एक ठाउँमा भेला हुने दाउराको मूढोको आगो ताप्नुपर्ने र एक–अपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।

पर्वमा विवाहित छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत एवम् सत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर योपर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको बुढापाकाहरूकाे गुनासो छ ।

साथै पुस १५ देखि नै स्थानिय माैलिक सांस्कृतिकाे रूपमा मनाउदै आएकाे ‘पुतला’ पन्ध्र दिन सम्म साँझ साँझ गाएर जगाउने गरिन्छ । माघ १ गते अथवा माघे संक्रान्तिकाे लागि आजबाट मुडा थुपार्ने प्रचलन रहेकाे छ ।

Leave A Reply

Your email address will not be published.