सिलगढी÷सुरक्षित अल्पकालीन महिला सेवा केन्द्र डोटीले हिंसा प्रभावित महिलाहरूका लागि संचालन गरेको व्यवसायीमुलक तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
सशक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत साथी संस्थाको प्राबिधिक सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा युएनएफपिएको आर्थिक सहयोगमा सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा तालिम संचालन भइरहेको थियो ।
यहि १३ गतेदेखि सुरु भएको तालिम १० दिनसम्म संचालन भई शुक्रबार समापन गरिएको सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रका प्रमुख एवं मनोसामाजिक परामर्शदाता बन्दना बमले जानकारी दिइन ।
‘हिंसा प्रभावित महिलाहरुको कृषिमा व्यवसायी बनाउन र आर्थिक सशक्तीकरण गर्न र आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको हो ।’, बमले भनिन्, ‘तालिममा १४ जना महिलाहरुको सहभागीता रहेको थियो ।’
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख स्मृती चुनाराले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने बताइन । समापन कार्यक्रममा बोल्दै चुनाराले सहभागी सबैले आ–आफ्नो घरमा गएर व्यवसायीक रुपमा तरकारी खेती सुरु गर्न आग्रह गरिन् ।
दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती महर साउँदले तालिममा सहभागि दिदिबहिनीहरुले आगामी दिनमा तरकारी खेती गरेर आत्मनिर्भर हुन आग्रह गरिन ।
कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर उप–प्रमुख सुनिता रावल जोराले व्यवसायीक रुपमा अगाडि बढे आफुहरुले पनि सहयोग गर्ने बताइन । उनले हिंसा प्रभावित दिदिबहिनीहरुको साथमा आफु सधै रहने बताइन ।
सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले हिंसामा परेका महिलाहरुलाई पालिकाको तर्फबाट पुर्ण सहयोग हुने बताइन ।
तालिम समापन पश्चात सहभागी सबैलाई आवश्यक पर्ने कृषि सामग्री प्रदान गरिएको थियो । कृषि सामग्रीहरुमा पोलिहाउस प्लास्टिक, गार्डेन पाइप, बिउबिजन, पंजा, बुट, स्प्रे ट्याङ्की लगायत १८ किसिमका समाग्री रहेका सेफ हाउसले जानकारी दिएको छ ।