सिलगढी ,नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पस इकाई समितिले शनिवार सरसफाइ कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व र सार्वजनिक स्थलको स्वच्छताप्रति विद्यार्थीको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले क्याम्पस क्षेत्र, शैलेश्वरी मन्दिर परिसर तथा जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्रमा सरसफाई गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बाजीसिंह खड्काले सरसफाइ जस्ता सकारात्मक सामाजिक गतिविधिमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता अभियानमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

डोटी बहुमुखी क्याम्पस इकाई समितिका सभापति साजन रावलले सरसफाइ अभियान विद्यार्थीहरूको सामाजिक र नैतिक जिम्मेवारीप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने एक माध्यम भएको बताउनुभएको छ। उहाँले विद्यार्थीहरू शिक्षा मात्र होइन, समाजप्रतिको योगदानमा पनि अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
शैलेश्वरी मन्दिर क्षेत्र, जिल्ला प्रसासन कार्यालय वरिपरिका सडक र डोटी बहुमुखी क्याम्पसको आँगन सफा गर्दै सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले सफा शहर र समृद्ध समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पस इकाईले आगामी दिनहरूमा पनि सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्का, नेपाली कांग्रेस डोटीका सहसचिव गोकर्ण मलासी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रकाश ठकुल्ला, डोटी बहुमुखी क्याम्पसका स्ववियु सभापति इन्द्र शमशेर राणा,लगायत कार्यक्रममा विभिन्न विद्यार्थी नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।