दिल्पेश्वर महादेव मठ झिलिमिली

डोटी — प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दिल्पेश्वर महादेव मन्दिर मठ परिसर झिलिमिली बनेको छ।

दिपायलस्थित दिल्पेश्वर स्पोर्टस क्लबको पहलमा मठ क्षेत्रमा ८० वटा गार्डेन लाइट जडान गरिएपछि मठ परिसर रातिको समयमा उज्यालो र आकर्षक बनेको हो।

क्लबका अध्यक्ष राभक्त सुनारका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मठ परिसरमा गार्डेन लाइट जडान गरिएको हो। रातिको समयमा दर्शन गर्न आउने भक्तजन र पर्यटकलाई सहज होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,उनले भने, यसले मठ क्षेत्रको धार्मिक गरिमा र सौन्दर्य दुवै बढाएको छ।

विशेषगरी माघे सङ्क्रान्तिका अवसरमा दिल्पेश्वर मठ हुँदै सेती नदी किनारमा रहेको बाइसधारामा स्नान गर्न जाने भक्तजनलाई लक्षित गरी यो कार्य गरिएको अध्यक्ष सुनारले बताए।

माघे सङ्क्रान्तिमा बाइसधारामा ठूलो मेला लाग्ने गर्दछ भने टाढाटाढाबाट आएका श्रद्धालुको घुइँचो लाग्ने गर्छ।
स्थानीय मनोहर माझीका अनुसार माघे सङ्क्रान्तिमा बाइसधारामा स्नान गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको छ।

स्थानीयका अनुसार गार्डेन लाइट जडानपछि दिल्पेश्वर महादेव मठ परिसर राति पनि सुरक्षित र रमणीय बनेको छ।

Leave A Reply

Your email address will not be published.