दिल्पेश्वरमा पुर्व विद्यार्थी भेला

दिल्पेश्वरमा पुर्व विद्यार्थी भेला
डोटी — दिपायल सिलगढी नगरपालिका–४ मा रहेको दिल्पेश्वर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरूको भेला कार्यक्रम सम्पन्न भएको छ। आज बिधालयमा आयाेजित कार्यक्रममा विभिन्न समयमा विद्यालयबाट अध्ययन पूरा गरेका पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालयसँगको पुरानो सम्बन्ध स्मरण गर्दै अनुभव आदान–प्रदान गरेका थिए। कार्यक्रममा विद्यालयका पूर्व तथा वर्तमान सरोकारवालाहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुधार तथा विद्यार्थीलाई आवश्यक सहयोगका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले छात्रवृत्ति व्यवस्था, पुस्तक तथा शैक्षिक सामग्री सहयोग, साथै आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने विषयमा समेत प्रस्ताव राखेका थिए।भेलाले पूर्व विद्यार्थी सञ्जाल गठन गर्दै मोहन पनेरूको संयोजकत्वमा समिति चयन गरेको छ। समितिमा भुपेन्द्र शाह, सावित्री सुनार, तेजराज मेधासी, तेज बहादुर द्वारिया, जंग बहादुर सुचिकार र नवीन बिकलाई सदस्य चयन गरिएको छ।
यसैगरी, भेलाले दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ। उक्त समितिमा दि सप नपाका शिक्षा शाखा प्रमुख शंकर सुचिकार, लाल बहादुर कठायत, दिपायल सिलगढी नगरपालिका–३ का पूर्व वडा अध्यक्ष चक्र बहादुर माझी तथा नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बहादुर बम सदस्य रहेका छन्।भेलामा पूर्व विद्यार्थीहरूको सञ्जाललाई सक्रिय बनाउँदै नियमित भेटघाट तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने र विद्यालयको समग्र विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सहभागीहरूले आफ्नो अध्ययनकालका अनुभव साझा गर्नुका साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका छन्।

Leave A Reply

Your email address will not be published.