बैशाख २०, डोटी ।आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । डोटीमा पनि दिवस मनाइएको छ ।शान्तिपूर्ण भविष्यको निर्माण मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम सिलगढीमा ऐक्यबद्धता प्रभातफेरी निकालेर दिवस मनाइएको हो ।नेपाल पत्रकार महासंघका डोटी शाखाको आयोजनामा महासंघको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी निकालिएको हो ।प्रभातफेरीपश्चात कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका डोटीका अध्यक्ष प्रकाश बमले वर्तमान सरकारले मिडियामैत्री वातावरण सिर्जना गर्न नसकेको औंल्याए ।सम्पूर्ण मिडियाकर्मीहरुलाई पत्रकार आचारसंहिताभित्र रहेर पेशागत सक्रियता जनाउन आग्रह गर्दै पछिल्लो समयमा वर्तमान सरकारले मिडियालाई निशेधको वातावरण सिर्जना गरेको र स्थानीय सरकारले पनि जिल्लामा सक्रिय सञ्चारमाध्यमको अवस्था बुझ्नुपर्नेमा जोड दिए ।नागरिकको सूचनाको हकलाई स्थापित गर्न मिडियालाई सशक्त बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।त्यस्तै नेपाल बार एशोसियन डोटीका सचिव डण्डीराज ओझाले सामाजिक सञ्जाजालले मिडियालाई झै विश्वास गर्न सकिने वातावरण नबनेको भए पनि आम सञ्चारमाध्यमहरुले पनि कर्तव्यनिष्ठ ढंगले अगाडि बढ्न नसकेको बताए ।
त्यसैगरी गैर सरकारी संस्था महासंघ डोटीका सहसचिव भक्तराज उपाध्यायले आम नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न प्रेस स्वतन्त्रता आवश्यक रहेको र मिडियाकर्मीको पक्षमा गैसस महासंघको पनि ऐक्यबद्धता रहेको बताए ।
प्रभातफेरी कार्यक्रममा डोटी जिल्लामा क्रियाशील विभिन्न संचारकर्मीहरु र नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।