सुजङ इङ्ग्लिस बोर्डिङ स्कुलमा शिक्षक–अभिभावक बैठक
डोटी — डोटीस्थित सुजङ इङ्ग्लिस बोर्डिङ स्कुलले शिक्षक–अभिभावक बैठक सम्पन्न गरेको छ। विद्यार्थीको शैक्षिक प्रगति, अनुशासन, नियमितता तथा विद्यालय र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको विद्यालयका निर्देशक नरेश बलायरले बताए।बैठकमा विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, आगामी योजना तथा अभिभावकको भूमिकाबारे छलफल गरिएको थियो। अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षाका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए।कार्यक्रममा विद्यालयको शिक्षण–सिकाइ तथा शिक्षक विकास विभागका संयोजक तेज विक्रम शाहीले हरेक विद्यार्थीलाई अर्थपूर्ण सिकाइमार्फत पूर्ण मानवका रूपमा विकास गर्नु शिक्षाको प्रमुख उद्देश्य रहेको बताए। उनले विद्यार्थी, विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय तहदेखि विश्वव्यापीकरण र आधुनिक समाजका बहुआयामिक एवं प्राविधिक पक्षबारे विद्यालय र अभिभावकबीच निरन्तर संवाद आवश्यक रहेको धारणा राखे।“विद्यार्थीमा प्रभावकारी सिकाइमार्फत जीवनोपयोगी ज्ञान, सीप, शैली, कला, धारणा र व्यवहारको विकास गर्न सकिन्छ,” उनले भने, “यस्ता विचारमन्थन, छलफल र सुझाव आदानप्रदानको संस्कृतिले अर्थपूर्ण सिकाइ तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँछ।”शाहीले बालबालिकालाई समाजको अमूल्य सम्पत्ति तथा भगवान्को विशेष उपहारका रूपमा चित्रण गर्दै उनीहरूको सर्वाङ्गीण विकासका लागि घरपरिवार, विद्यालय, शिक्षक तथा सबै सरोकारवालाको समान चासो र जिम्मेवारी आवश्यक रहेको बताए। कुनै पनि नकारात्मक विचार वा विकृत प्रभावबाट बालबालिकालाई जोगाउँदै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सबै पक्षको निरन्तर सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।निर्देशक बलायरले विद्यालय र अभिभावकबीचको सहकार्य बलियो हुँदा विद्यार्थीको सिकाइ उपलब्धि र व्यवहारिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए। उनले यस्ता बैठकले विद्यार्थीको शैक्षिक अवस्थाबारे अभिभावकलाई जानकारी गराउनुका साथै देखिएका समस्या समाधानका लागि साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।बैठकमा सहभागी अभिभावकहरूले विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको शैक्षिक, सामाजिक तथा व्यवहारिक विकासमा सकारात्मक प्रभाव पर्ने धारणा राखेका थिए। विद्यालयले आगामी दिनमा पनि अभिभावकसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।