डोटी/ डोटीमा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित डोटी गोल्ड कप–२०८३ अन्तर्गत दोस्रो संस्करणको जिल्ला स्तरीय यू–१६ पुरुष फुटबल प्रतियोगिताको उपाधि सुजङ स्कुल, राजपुर ले जितेको छ।शिलास्थान युवा क्लब (एसवाईसी), सिलगढीको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुजङ स्कुल राजपुरले मोर्निङलाइट स्कुल, सिलगढी लाई १–० गोल अन्तरले पराजित गर्दै बिजयता बनेकाे हाे ।प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा सुजङ स्कुलका खेलाडी आशिष बिष्टले गरेकाे एक गोल नै खेलको निर्णायक बन्यो। आशिषको गोलसँगै सुजङ स्कुलले उपाधि जित्न सफल भएको हो। खेलभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि मोर्निङलाइट स्कुलले बराबरी गोल फर्काउन नसक्दा उपविजेतामै सीमित हुनुपरेको थियो। ‘खेलकुदद्वारा हाम्रो एकता, लागूऔषधविरुद्ध हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारासहित सञ्चालन भएको प्रतियोगितामा जिल्लाका आठ विद्यालयका यू–१६ उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा फुटबल खेलको विकास र खेल संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष हिक्मत मलासीले बताए ।प्रतियोगितामा विजेता बनेको सुजङ स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मोर्निङलाइट स्कुलले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।