कांग्रेससँगको सहकार्य तोड्न एमाले नेता थापाको दबाब, नेकपासँग नयाँ सरकार बनाउन आग्रह

धनगढी — नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रशान्त थापाले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य तत्काल अन्त्य गरी नेपाली कम्युनिस्ट पार्टी  सँग मिलेर नयाँ सरकार गठन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। उनले कांग्रेस नेतृत्वले एमालेसँग भएको राजनीतिक समझदारीको सम्मान नगरेको आरोप लगाउँदै वर्तमान सत्ता समीकरण पुनः समीक्षा गर्नुपर्ने बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्रीले एमालेसँगको सहकार्यलाई कमजोर बनाउने गतिविधि गरिरहेको र भित्रभित्रै नेकपासँग सहमति खोजिरहेको दाबी गर्दै उनले एमाले अब पनि मौन बस्न नहुने उल्लेख गरेका छन्।

“कांग्रेससँगको सहमति तुरुन्त अन्त्य गरेर एमाले र नेकपा मिलेर नयाँ सरकार बनाउनुपर्छ,” उनले फेसबुकमा लेखेका छन्।

थापाले प्रदेश सरकार सञ्चालनमा एमालेको भूमिकालाई अपेक्षित सम्मान नदिइएको दाबी गर्दै सत्ता सहकार्यको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले प्रदेशको राजनीतिक स्थायित्व र प्रभावकारी शासनका लागि नयाँ सत्ता समीकरण आवश्यक रहेको जिकिर गरेका छन्।

उनको अभिव्यक्तिले सुदूरपश्चिमको सत्ता समीकरणबारे नयाँ राजनीतिक बहस सुरु भएको छ। यद्यपि, एमाले प्रदेश नेतृत्व वा केन्द्रीय नेतृत्वले थापाको धारणाबारे औपचारिक प्रतिक्रिया जनाएको छैन। त्यसैगरी, नेपाली कांग्रेस र प्रदेश सरकारको तर्फबाट पनि यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Leave A Reply

Your email address will not be published.