इम्प्याक्ट प्लस युवा तथा बाल क्लबका बालबालिकाले गरे १० बुँदे प्रतिबद्धता
मोहन पनेरू
डोटी
डोटीका नौ स्थानीय तहमध्ये चार स्थानीय तहका इम्प्याक्ट प्लस युवा तथा बाल क्लबका सदस्यहरूको सहभागितामा बालबालिकाको नेतृत्व विकास, सशक्तीकरण तथा बालअधिकारका विषयमा केन्द्रित वार्षिक भेला सम्पन्न भएको छ ।सायल गाउँपालिकाका १८ जना, आदर्श गाउँपालिकाका २४ जना, पूर्वीचौकी गाउँपालिकाका २ जना र दिपायल सिलगढी नगरपालिकाका १२ जना गरी ५६ जना बालबालिका तथा युवाको सहभागिता रहेको कार्यक्रममा बालअधिकार, नेतृत्व विकास, सामाजिक विकृति न्यूनीकरण र सकारात्मक सोचका विषयमा छलफल गरिएको थियो।कार्यक्रम सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा भएको हो। भेलामा सहभागी बाल क्लबका सदस्यहरूले आफूमा भएको ज्ञान, सीप र क्षमताको पहिचान गरी स्पष्ट लक्ष्य निर्धारण गर्ने तथा लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्ने प्रतिबद्धता जनाएका छन्।
सामाजिक कुरीति तथा बालबालिकाको भविष्यमा असर पार्ने गतिविधिविरुद्ध बालबालिकाले नै आवाज उठाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। लागूऔषध दुरुपयोग, छाउपडी, बालविवाहलगायतका सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउने प्रतिबद्धता उनीहरूले गरेका छन्।
कार्यक्रममा रघुनाथ ओझाले बालबालिकालाई आफ्नो अधिकारबारे सचेत बनाउँदै नेतृत्व विकासका अवसर प्रदान गर्नुपर्नेमा जोड दिए। उहाँले बालबालिकाको सक्रिय सहभागिताले परिवार, समुदाय हुँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए ।त्यस्तै जानकी रावलले बालबालिकाले आफ्नो क्षमता पहिचान गरी आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए। बालबालिकाको आवाज र विचारलाई सम्मान गर्दै उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।
सर्मिला नेपालीले बालविवाह, छाउपडी तथा लागूऔषधजस्ता सामाजिक समस्याविरुद्ध बालबालिका र युवाको सचेत भूमिका आवश्यक रहेको बताए । उहाँले बालबालिकाले आफू सचेत हुँदै आफ्नो समुदायका अन्य बालबालिकालाई समेत सकारात्मक कामका लागि प्रेरित गर्नुपर्नेमा जोड दिए ।
भेलामा सहभागी बाल क्लबका सदस्यहरूले विभेदरहित, समावेशी, सुरक्षित तथा बालमैत्री समाज निर्माणमा योगदान गर्ने, वातावरण संरक्षणमा सचेत हुने र अन्य बालबालिकालाई समेत सकारात्मक कामका लागि प्रेरित गर्ने प्रतिबद्धता गरेका छन्। उक्त कार्यक्रम पत्रकार द्वय डा।नवराज लम्साल र कान्तिपुरकि उप सम्पादक मेनुका ढुङगानाले सहजीकरण गरेको थियो ।