जिल्ला सदरमुकाम सिलगढीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ । दिपायल सिलगढि नगरपालिका वडा नं ६ को अगुवाइमा तथा जिल्ला अस्पताल डोटी, माया मेट्रो अस्पताल र भैरव प्रसाद गणको सयुक्त आयोजनामा जिल्ला अस्पताल डाेटीमा यहि वैशाख १६ गते एक दिने स्वास्थ्य शिविर सञ्चालन हुने वडा न. ६ काे वडा कार्यालयले जानकारी दिएकाे छ ।
शिविरमा विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिने दिपायल सिलगढि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेश मलासिले बताउनु भयाे । जिल्लाकाे ग्रामीण भेगका जनताहरू अझै पनि भाैगाेलिक तथा आर्थिक अभावका कारण रोग पालेर बस्नु परेकाे अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न गैरहेकाे अध्यक्ष मलासीले बताउनु भएकाे छ ।
उक्त शिविरमा माया मेट्रो अस्पताल धनगढीका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पुजन पन्त, बाल रोग विशेषज्ञ डा सुलोचना दाहाल, छाला तथा यौन रोग विशेषज्ञ डा प्रियंका मैनाली, स्त्रीरोग विशेषज्ञ डा. रबिन्द्र देवकोटा, दन्त रोग विशेषज्ञ डा. प्रेरणा शर्मा लगायतका स्वास्थ्यकर्मीहरूबाट सेवा प्रदान गरिने माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताउनु भएकाे छ ।
साथै त्यस्तै जिल्ला अस्पताल डोटीका जनरल प्राक्टिस तथा मेडिसिन विशेषज्ञ डा. निराजन श्रेष्ठ, जनरल फिजिसियन तथा इन्टरनल मेडिसिन विशेषज्ञ डा. जुनु लावति र बालरोग विशेषज्ञ डा. ललित सुरिद्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले बताउनु भएकाे छ ।
जिल्लाकाे अधिकांश क्षेत्रका जनताहरूले आर्थिक अभावका कारणले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहनु परेकाे र उक्त शिविरले सबैलाई ठुलो राहत पुग्ने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनु भयाे ।
शिविरमा ल्याब र एक्सरे सेवा पनि प्रदान गरिने भएकाे छ ।