सुबास नेपाली
डाेटी,
सुदूरपश्चिम प्रदेशको प्रचुर सम्भावना बोकेको खप्तड क्षेत्र पर्यटकीय एवं धार्मिक क्षेत्रको अनुपम संगम स्थल रहेको हुदा खप्तडको बिकास नै सुदुर पश्चिम प्रदेशको समृद्धिको आधार भएको सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले बताउनु भएको छ ।
सिलगढिमा आयोजित हाई अल्टिच्युट म्याराथन ,हाफ म्याराथन दोस्रो संस्करण २०८० को पुरस्कार बितरण कार्यक्रममा बोल्दै थापाले यस्ताे बताउनु भएकाे हाे । पर्यटन र खेलको माध्यमबाट खप्तडलाई चिनाई पर्यटकीय हब बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गराइ आर्थिक रुपले अगाडि बढने सकिने उपरथी थापाले बताउनु भयाे ।
खप्तड क्षेत्रको पर्यटकीय विकास सँगसँगै नागरिक र सैनिक सम्बन्धलाई मजबुद बनाउने उद्देश्यले खप्तड क्षेत्रमा आयोजना गरेका कार्यक्रमहरुले एकातिर खप्तडको पर्यटकीय र प्रचारप्रसारमा टेवा पुग्नुका साथै नागरिक र सैनिक सम्बन्ध प्रघाट हुने उहाँले बताउनु भयाे ।
सुदुर पश्चिम प्रदेशमा पनि खेलकुदका हरेक विधामा राम्रा राम्रा खेलाडी भएको र यस्ता प्रतियोगिताले खेलाडीमा भएको प्रतिभा उजागर गरेको र यस्ता कार्यक्रममा नेपाली सेना सदैब तयार रहने उहाको धारणा रहेको थियो।
सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा खप्तड क्षेत्रमा लागेको गङ्गादशहरा मेलाको अवसरमा भलिबल, देउडा, घोडा दौड, हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिरसम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिरसम्म प्रतियोगिताहरू सञ्चालन भएका थिए ।