डोटी अस्पतालको शव गृहमा ४९ दिन देखि बेवारिसे शिशुको शव, भएन अझै व्यवस्थापन

मङ्सिर २०, डोटी
डोटीको शिखर नगरपालिका–६ तिलतालि स्थित सेती नदीमा गत महिना एक नवजात शिशुको बेवारिसे शव फेला पर्‍यो । कात्तिक १ गते बुधवार साँझ सेती नदीमा पानी जमेको ठाउँमा ८/९ महिनाको जस्तो देखिने शव फेला परेको थियो ।
उक्त नवजात शिशु फेला परेको ४९ दिन बितिसकेको छ । अझै पनि शिशु कसले, किन र कसरी फालेको हो भन्ने भन्ने बारे कुनै तथ्य फेला परेको छैन । शिशुको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ । शिशुको शव व्यवस्थापन गर्नतिर कसैको ध्यान गएको देखिँदैन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाकाले यस घटनामा प्रहरीले गर्नुपर्ने सबै प्रक्रिया पुरा भएको बताए । उनले भने, ‘शिशु कसले र किन फाल्यो कारण पत्ता लाग्न सकेको छैन, शवको पोस्टमार्टम गरिएको छ ।’ शवको व्यवस्थापन गर्ने कार्य प्रहरीको नभएको र शव व्यवस्थापनका लागि आवश्यक कार्य गर्न शिखर नगरपालिकालाई अगाडी नै पत्र पठाएको प्रहरी प्रमुख कोइरालाले बताए ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ मा जिल्लामा प्रमुख प्रहरीको अध्यक्षतामा पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन जिल्ला समिति गठन हुन्छ । निर्देशिकामा पहिचान नभएका तथा बेवारिसे शवलाई सम्बन्धित प्रहरी कार्यालयले समितिको निर्णय बमोजिम स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका सामाजिक सङ्घसंस्थाको रोहवरमा स्थानीय तहको समन्वयमा अन्त्येष्टि गरी सोको विवरण राख्नुपर्ने उल्लेख छ । शव व्यवस्थापनमा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले सम्बन्धित प्रहरी कार्यालयको समन्वयमा गर्नुपर्ने हुन्छ ।
तर शव भेटिएको स्थान शिखर नगरपालिकाका नगरप्रमुख दीर्घ बहादुर बलायरले शव व्यवस्थापन गर्ने काम आफूहरूको नभएको बताए । प्रमुख बलायरले व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्न सक्ने भए पनि शवको व्यवस्थापन गर्ने पाटो आफ्नो नभएको बताए । यता जिल्ला अस्पताल डोटीका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर नेपालीले शवको समयमै व्यवस्थापन नहुँदा समस्या हुने स्थिति सिर्जना भएको बताए । अस्पतालमा शव राख्नको लागि दुई ओटा मात्रै मर्चुरी फ्रिज रहेको र दुई ओटैमा शव हुनाले अर्को थप शव आएमा समस्या हुने अध्यक्ष नेपालीले बताए ।
Leave A Reply

Your email address will not be published.