पदमा बसेका व्यक्तिहरूको कारणले पनि लैङ्गिक हिंसाले प्रश्रय पाइरहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रमका अधिकांश सहभागीले विभिन्न हिंसालाई मिलाएर प्रशय दिने परिपाटी मौलाएको बताएका हुन् । पीडितलाई न्याय दिन भन्दा पनि समाजमा घट्ने विभिन्न घटनालाई मिलाउन लाग्ने गरेको महिला अधिकारकर्मी रमा भण्डारीले बताइन् । उनले भनिन्, ‘सामान्य घटनामा मात्रै होइन बलात्कार जस्ता जघन्य घटनालाई मिलाउने प्रयास हुन्छ जसका कारण पीडित थप पिडामा जान्छ ।’ सरकारी तथा गैरसरकारी संस्थाको लगानी सदुपयोग हुने गरी समाजका हरेका व्यक्तिलाई नीति नियमको बारेमा जानकारी गराउन आवश्यक रहेको भण्डारीको भनाई छ ।
पहुँच भएकाहरूलाई देशको कुनै पनि कानुनले सजाय दिन नसक्ने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का पूर्व वडा सदस्य सरस्वती साउदले बताइन् । ‘न्याय हामी जस्ता गरिबलाई पाइँदैन, कारागारमा पनि धनी होइन गरिब नै बस्नुपर्छ, साउदले भनिन्, पहुँच भएको पिडक भए माथि बाटै त्यो मेरो मान्छे हो छोडी दे भन्ने आदेश आउँछ ।’ रिगल, रेसम चौधरी जेलबाट छुटेको उदाहरण दिँदै सङ्घ, प्रदेश र स्थानीय सरकारबाटै हिंसा सहनुपर्ने बाध्यता रहेको साउदले बताइन् । हिंसा पीडितहरूलाई पुनर्स्थापना गर्न ध्यान दिनुपर्ने अधिकारकर्मी शङ्कर विश्वकर्माले बताए । हिंसामा परेकाहरूको घटना मिलाउँदा उनीहरूले विभिन्न बाहानमा पुनः थप हिंसा सहनुपर्ने भएकाले पुनर्स्थापनाका कार्यलाई बढवा दिनुपर्ने उनले बताए ।