पुस ०३, डोटी । डोटीको बडीकेदार गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाले एक वर्षसम्म गरेका क्रियाकलापहरूको बारेमा सरोकारवालाहरूलाई जानकारी गराई सबै क्रियाकलापहरूलाई पारदर्शी, जबाफदेही र उत्तरदायी बनाउने उद्देश्यका साथ सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरिएको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी,यातायात, खेलकुद, विद्युत् पर्यटकीय क्षेत्रको विकासमा जोड दिन सुझाव दिएका थिए । कार्यक्रममा गत आवमा सञ्चालन गरेका क्रियाकलापहरूको मुख्य उपलब्धि नीति तथा कार्यक्रमहरू, लक्षित वर्गलाई सेवा तथा सुविधा दिन गरिएका मुख्य मुख्य नीतिगत व्यवस्था तथा प्रक्रियागत सुधारहरू आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दा भोगेका समस्या आगामी दिनमा सुधारको लागि चाल्नुपर्ने कदम तथा सुझावहरूको बारेमा छलफल गरिएको थियो ।
Sagan sahari bhawan nirman aayojana
पालिकाले सञ्चालन गरेका कार्यक्रमहरूलाई दिगो बनाउन अनुगमन कार्यलाई थप व्यवस्थित बनाउने बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । पालिकाले सञ्चालन गरेका गतिविधिहरूमा जबाफदेहिता, पारदर्शिता र सुशासन कायम गर्न सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताए ।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण जस्ता कार्यक्रमलाई पालिकाले नियमित रूपमा गर्ने समेत बताए । गाउँपालिकाको सभा हलमा आयोजित सामाजिक परीक्षण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य, इलाका प्रहरी कार्यालयका प्रमुख, राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारीहरू लगाएको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ठुलाकेदार मिडिया प्रा.ली डोटीले गरेको थियो ।