किरण धामी, डोटी
विकासको लागि सबै मिलेर जानु पर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । शुक्रवार डोटी बहुमुखी क्याम्पस डोटीको मानविकी भवनको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । विकाससँग जनतालाई जोड्दै जनप्रतिनिधिले काम गर्नु पर्ने र यसरी कार्य गरेमा विकासका कार्य तीव्र अगाडी बढ्ने मुख्यमन्त्री भट्टको भनाई छ । “हाम्रा राजनीतिक बिचार फरक हुन सक्छन् तर विकासका लागि हामी एक ठाउँमा उभिन जरुरी छ, मुख्यमन्त्री भट्टले भने, जुन ठाउँमा विकासमा एक मत भएको छ त्यो ठाउँमा सबै भन्दा बढी विकास भएको देखिन्छ ।”
समाज समृद्ध र शान्त हुनका लागि त्यो समाजका व्यक्ति शिक्षित हुनुपर्ने उनले बताए । समाजका हरेक व्यक्तिमा नैतिकता, सभ्यता हुनु आवश्यक रहेको र जसका लागि विद्यार्थी तथा शिक्षक दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ । डोटी क्याम्पस सुदूरपश्चिम प्रदेशकै पुरानो क्याम्पस हो । विगतका वर्षमा क्याम्पस व्यवस्थित बनाउन कसैको ध्यान नगएको र अहिले प्रदेश सरकार र स्थानीय सरकार त्यसमा लागेको मुख्यमन्त्री भट्टले बताए । प्रदेश सरकारको लागतमा डोटी बहुमुखी क्याम्पसमा दुई भवन निर्माणाधीन छन् ।
क्याम्पस प्रमुख दिलानन्द जोशीले प्रदेश सरकारलाई धन्यवाद दिँदै डोटी क्याम्पसमा छात्रावास आवश्यक रहेको बताएका छन् । क्याम्पसमा छात्रावासको व्यवस्था भएमा सुदूरपश्चिमका अन्य जिल्लाका विद्यार्थी पनि अध्ययनको लागि डोटी पुग्ने बताउँदै क्याम्पसमा छात्रावास निर्माणका लागि प्रदेश सरकार र मुख्यमन्त्री भट्टलाई जोशीले आग्रह गरे । छात्रावास बनाउनको लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री भट्टले बताए ।
समग्र विकासको लागि गठबन्धन आवश्यक रहेको र गठबन्धन डोटीमा पनि कायम हुनुपर्ने मुख्यमन्त्री भट्टको भनाई छ । डोटी क्याम्पसको मानविकी भवनको आज मुख्यमन्त्री भट्टले शिलान्यास गरेका छन् । प्रदेश सरकारको ५ करोड ७४ लाख ७२ हजार ४ सय २९ रुपैयाँको लागतमा निर्माण हुने भवनको मुख्यमन्त्रीले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् । उक्त ४ तले मानविकी भवन २०८० चैत २ गते सम्पन्न गर्ने गरी २०७८ चैत २ गते पि.एस/रोयल जे.भी. सँग सम्झौता भएको छ । अहिले भवन निर्माणको कार्य जारी छ । प्रदेश सरकारै लागतबाट निर्माण थालिएको क्याम्पसको अर्को ३ तले भवनको निर्माण कार्य अन्तिम चरण पुगेको छ । क्याम्पसमा अझै भौतिक संरचनाको अभाव रहेको क्याम्पस प्रमुख दिलानन्द जोशीले बताए । डोटीलाई शैक्षिक हब बनाउनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको जोशीले बताए ।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंह, उपप्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का, उपप्रमुख कल्पना साउँद, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।