डोटी — ग्रामीण भेगमा शिक्षाको गुणस्तर खस्कँदै गएको चर्चा भइरहेका बेला डोटीमा पहिलोपटक आयोजना गरिएको ‘आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम’ ले शिक्षा क्षेत्रमा नयाँ बहस र आशा दुवै जन्माएको छ।
श्री चण्डीका इंग्लिस बोर्डिङ स्कुल, के.आई.सिंह–३, डोटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखिएको थियो। कार्यक्रममा शिक्षाको जिम्मेवारी केवल विद्यालय वा शिक्षकको मात्र नभई अभिभावकको पनि उत्तिकै भूमिका रहने सन्देश दिइयो।
कार्यक्रमका प्रमुख अतिथि चैतन्य पाठशालाका संस्थापक अध्यक्ष गणेशराज जोशीले अभिभावक, विद्यार्थी र शिक्षकबीच घनिष्ट सम्बन्ध भए मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताए।
उनले विद्यालयले पढाउने मात्र नभई अभिभावकले घरमै नैतिकता, अनुशासन र जिम्मेवारी सिकाउनुपर्ने बताए। यी तीन पक्षबीच सहकार्य भएमा विद्यार्थीको समग्र विकास सम्भव हुने उनको भनाइ थियो।
जोशीले अहिलेको समय प्रतिस्पर्धात्मक भएकाले किताबको ज्ञानसँगै जीवन उपयोगी सीप, संस्कार र आत्मविश्वास विकासमा ध्यान दिनुपर्नेमा जोड दिए। अभिभावक सचेत र सक्रिय भएमा विद्यार्थीको सिकाइ स्तर उल्लेख्य रूपमा सुधार हुने उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयका अध्यक्ष वीरबहादुर कुँवर सभापतिका रूपमा रहेका थिए। उनले विद्यालय मात्र होइन, अभिभावकको साथ र विश्वासले नै शैक्षिक वातावरण मजबुत बन्ने बताए।
विद्यालय र घरबीच सहकार्य भएमा मात्रै शिक्षाको लक्ष्य पूरा हुने उनले उल्लेख गरे।
कार्यक्रममा उपस्थित अभिभावकहरूले यस्तो किसिमको कार्यक्रम डोटीमा पहिलोपटक भएको भन्दै खुशी व्यक्त गरे। यस्ता उत्प्रेरणामूलक कार्यक्रमले विद्यार्थीको मनोबल वृद्धि हुनुका साथै विद्यालयप्रति विश्वास बढ्ने उनीहरूको धारणा थियो।
ग्रामीण तथा दुरदराज क्षेत्रमा शिक्षा सुधारका लागि अभिभावक सचेतना अपरिहार्य मानिँदै आएको सन्दर्भमा, डोटीमा सुरु गरिएको यो कार्यक्रमलाई सकारात्मक शैक्षिक अभियानको सुरुवातका रूपमा हेरिएको छ।