“कबिता” ✍️ डोटेली विनोद
आमा म बिदेश जान्छु है
मैले मेरी आमालाई जसोतसो प्रश्न गरे
म सानो हुँदा मेरी आमा,
अरुको मेला जानुहुन्थ्यो
मेलामा पाएको त्यो चिउरा र भुजा,
आफुले थोरै खानुहुन्थ्यो
मेरो छोराले मीठो मानेर खान्छ भनेर,
पटुकीमा बाधेर मलाई ल्याउनुहुन्थ्यो
आफू जता जादा पनि छोड्न,
नसकेर आफुसङ्गै डोर्याउनुहुन्थ्यो
धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ बाबू,
बिदेश जानू हुदैन भनी सम्झाउनुहुन्थ्यो
आमा म बिदेश जान्छु है
मैले मेरी आमालाई फेरि प्रश्न गरे
मेरी आमा धेरै बेरसम्म मौन हुनुभयो
गहभरी आँसु पारेर बेस्सरी रुनुभयो
मेरी आमा दोधारमा पर्नुभयो
मेरो टाउको सुम्सुम्याउदै नजिकै सर्नुभयो
घरभित्रै आँखा एताउता गर्दै हेर्नुभयो
म पछिका स-साना भाईबहिनीलाई हेर्नुभयो
साहुको त्यो दैनिकी गाली सम्झिनुभयो
साहुकै रिन तिर्न बेचेको बाली सम्झिनुभयो
सिरक ओड्नै नपाएर चिसोमा कटाएका रात सम्झिनुभयो
छिमेकीले घोचेर बोलेका बात सम्झिनुभयो
बिगतमा बगाएका आसुका बर्सात सम्झिनुभयो
कैयौ पटक आफन्तले नै दिएका घात सम्झिनुभयो
र झट्ट आत्तिदै बोल्नुभयो बाबू त अरु कुरा मिलाउदै गर म गाउतिर पैसाको जोहो गर्न जान्छु !
खुशी भएजस्तै गरि हुन्छ भनिदिए
आमाको अगाडी दुखी भएरै पनि खुशी बनिदिए
र आजबाट मेरो सधैको प्रश्न कहिल्यै उत्पन्न नहुने गरि समाप्त भयो ।