पुरानै योजनामा सीमित सुदूरपश्चिम

मोहन पनेरु / डोटी

बालेन सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना दोहोरिएका छन् । केही नयाँ कार्यक्रम समेटिए पनि तिनका लागि स्पष्ट बजेट उल्लेख नगरिएकाले कार्यान्वयन बारे फेरि आशंका उब्जिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय सासंद प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिमका केही नयाँ कार्यक्रम घोषणा गरेका छन् । धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाभित्र दुई हजार दर्शक क्षमताको इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण, दलित बस्ती लक्षित नमुना होमस्टे सञ्चालन तथा गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गर्ने योजना नयाँ रूपमा अघि सारिएको छ ।

यस्तै, कञ्चनपुरको दोधाराचाँदनीमा दुई वर्षभित्र एकीकृत जाँच चौकी निर्माण गर्ने घोषणा पनि यसपटकको बजेटमा नयाँ कार्यक्रमका रूपमा समेटिएको छ ।

तर, बजेटमा समावेश अधिकांश कार्यक्रम भने विगतदेखि दोहोरिँदै आएका योजना नै हुन् । सरकारले दार्चुला–तिङ्कर सडक खण्डको ट्रर्याक खोल्ने कामलाई प्राथमिकता दिने, सेती करिडोर र खुटिया–दीपायल फास्ट ट्रर्याकको स्तरोन्नति गर्ने, फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी निर्माण अघि बढाउने ।

रामारोशन–खप्तड–बडिमालिका–शैलेश्वरी–उग्रतारा–मालिकार्जुन क्षेत्र समेटिएको पर्यटन प्रवद्र्धन कार्यक्रम, खप्तड–बडिमालिका–शुक्लाफाँटा पर्यटन कार्यक्रम तथा खप्तड, बडिमालिका र बुढीनन्दा क्षेत्रलाई रारासँग जोड्ने योजना पनि पुरानै कार्यक्रमको निरन्तरता हुन् ।

त्यसैगरी, कञ्चनपुरको बेलौरी र टाउन क्षेत्रमा ढल प्रशोधन केन्द्र निर्माण, २१० मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना, महाकाली सिँचाइ तथा रानीजमरा कुलरिया क्षेत्रको पूर्वाधार विकास, महाकाली नदी नियन्त्रण र सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन सेवा विस्तारजस्ता कार्यक्रमलाई पनि सरकारले पुनः बजेटमा समेटेको छ ।

फाप्ला क्रिकेट रंगशालाका परिकल्पनाकार सुवास शाहीले भने सरकारले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताएका छन् ।

डोटी उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले सुदूरपश्चिमका लागि ठोस र परिणाममुखी कार्यक्रम नआएको टिप्पणी गरे ।

सरकारले सुदूरपश्चिमका लागि नयाँ र पुराना दुवै प्रकारका कार्यक्रम घोषणा गरे पनि स्पष्ट बजेट अभावले कार्यान्वयनबारे अन्योल भने कायमै रहेको छ ।

Leave A Reply

Your email address will not be published.