धन बोहरा डोटी,सामुदायिक विकास केन्द्र (सिडिसी ) डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेशी तथा गुणस्तरीय प्राविधिक शिक्षा परियोजनाअन्तर्गत आदर्श गाउँपालिका–७, दहस्थित कालिकास्थान माध्यमिक विद्यालयमा निर्माण गरिएको बालमैत्री तथा अपाङ्गमैत्री शौचालय शनिबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको सामुदायिक विकास केन्द्र सिडिसि डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले जानकारी दिनुभएको छ।
उक्त शौचालय भवन बालबालिका र अपाङ्ग व्यक्तिहरूको पहुँचमा हुनेगरी आधुनिक ढंगले निर्माण गरिएको हो। यस कार्यले समावेशी र सुरक्षित शैक्षिक वातावरण निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले यसले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि सहयोग पुर्याउने धारणा राख्नुभएको थियो।
शौचालय हस्तान्तरण समारोहको प्रमुख आतिथ्य आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकाया रहनुभएको थियो।
कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशी, वडा नं. ७ का वडाध्यक्ष लाल बहादुर बिष्ट लगायत जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।