मोहन पनेरू
डोटी
शिखर नगरपालिका–६ चुडीको शान्त परिवेशमा बिहान सबेरै शंखध्वनि र वैदिक मन्त्र उच्चारणको स्वर गुन्जिन्छ। सानो तर अर्थपूर्ण संसारजस्तै लाग्ने श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रम भित्र १६ जना बटुकहरू दिनचर्या सुरु गर्छन्—कसैले अग्निहोत्रको तयारी गर्छ, कसैले गुरुका सामु पाठ दोहोर्याउँछ। बाहिरबाट हेर्दा यो केवल एउटा आश्रम जस्तो देखिए पनि भित्र चलिरहेको छ सनातन संस्कृतिको निरन्तरता जोगाउने मौन संघर्ष। २०७६ सालमा स्थापना भएको यो गुरुकुल डोटीमै संस्कृत शिक्षा दिने एक मात्र केन्द्र हो। यहाँ पढाइने विषय केवल भाषा होइन, जीवनशैली हो—संस्कार, अनुशासन, श्रद्धा र धर्मको अभ्यास। तर यही परम्परा जोगाउने थलो अहिले आर्थिक अभावसँग जुधिरहेको छ।
गुरुकुलका प्राचार्य धुर्व फुलारा भन्छन्, “अहिलेसम्म जेनतेन चलाएका छौँ। नियमित स्रोत केही छैन, दाताहरूको सहयोगले मात्रै धानिएको छ।” उनका अनुसार कसैले जन्मदिनमा दान दिन्छन्, कसैले आफ्ना पितृहरूको श्राद्धमा सहयोग गर्छन्। यही ‘श्रद्धा’ र ‘दान’को संस्कारले गुरुकुलको चुलो बलेको छ।
सनातनको शिखा जोगाउने प्रयास
सनातन धर्म केवल पूजा–पाठमा सीमित छैन, यो जीवन जिउने विधि हो। त्यही विधिलाई पुस्तान्तरण गर्ने माध्यमका रूपमा गुरुकुल परम्परा सदियौँदेखि स्थापित छ। आधुनिक शिक्षाको विस्तारसँगै यस्ता गुरुकुलहरू घट्दै गएका छन्। तर डोटीको यो सानो प्रयासले भने परम्पराको धागो समातेर राख्ने कोशिस गरिरहेको छ। यहाँका बटुकहरू बिहान ब्रह्ममुहूर्तमा उठ्छन्, स्नानपछि मन्त्र जप गर्छन् र त्यसपछि गुरुबाट वेद, उपनिषद्, संस्कृत व्याकरण जस्ता विषय पढ्छन्।उनीहरूको जीवन मोबाइल, इन्टरनेट र आधुनिक सुविधाभन्दा टाढा छ—तर अनुशासन र आध्यात्मिक अभ्यासले भरिएको छ।
दक्षिणा र मुष्टिदान्नमै निर्भर
गुरुकुल सञ्चालनका लागि कुनै स्थायी आर्थिक स्रोत छैन। विद्यार्थीहरूको भोजन र दैनिक खर्च ‘मुष्टिदान्न’ (घरघरबाट संकलित अन्न) र दक्षिणाबाट जुटाइन्छ। कहिलेकाहीँ रुद्री, सप्ताह, कथा वाचनजस्ता धार्मिक कार्यक्रमहरूमा गुरुकुलका प्रतिनिधि बोलाइन्छन्। त्यहाँबाट प्राप्त सहयोगले केही समयका लागि राहत मिल्छ।“त्यस्ता कार्यक्रमले बटुकहरूको भोजन व्यवस्थापनमा सहज हुन्छ,” फुलारा भन्छन्, “तर त्यो पनि स्थायी समाधान होइन।”
स्थानीय तहको सीमित साथ
डोटीका ९ स्थानीय तह मध्ये ४ वटाले मात्रै केही सहयोग गरेको गुरुकुलको भनाइ छ। बाँकी स्थानिय तहबाट अपेक्षित सहयोग नपाउँदा समस्या झन् गहिरिँदै गएको छ। स्थानीय सरकारको प्राथमिकतामा यस्ता परम्परागत शिक्षालय नपरेको गुनासो गुरुकुल पक्षको छ। परम्परा र भविष्यबीचको दोधार एकातिर आधुनिक शिक्षाले नयाँ अवसर खोलिरहेको छ, अर्कोतिर यस्ता गुरुकुलहरूले संस्कार र पहिचान जोगाइरहेका छन्। तर आर्थिक अभावले गर्दा यस्ता संस्थाहरू टिक्न नसक्ने खतरा बढ्दो छ। गुरुकुलका साना बटुकहरूलाई हेर्दा भविष्यका पुजारी, विद्वान् र धर्मसंरक्षकको झल्को देखिन्छ। तर उनीहरूको पढाइ र बसाइ नै संकटमा परे, त्यो केवल एउटा संस्थाको समस्या हुने छैन—त्यो सनातन परम्पराकै क्षयको संकेत हुनेछ।
आवश्यकता : दीर्घकालीन साथ
गुरुकुलका प्राचार्य फुलारा भन्छन्, “हामी ठूलो सहयोग मागिरहेका छैनौँ, तर स्थायी रूपमा सञ्चालन गर्न सकिने आधार चाहिएको हो।” उनका अनुसार राज्य, स्थानीय तह र समाजले मिलेर यस्ता संस्थालाई संरक्षण गरे मात्र सनातन संस्कृतिको धरोहर जोगाउन सकिन्छ। डोटीको चुडीमा रहेको यो सानो गुरुकुलले ठूलो सन्देश दिइरहेको छ—परम्परा केवल इतिहास होइन, त्यसलाई जोगाउन वर्तमानमा निरन्तर प्रयास आवश्यक हुन्छ। अहिले भने त्यो प्रयास केही बटुक, एक गुरू र केही दाताहरूको काँधमा अडिएको छ।