धन बोहरा डोटी,डोटीको आदर्श गाउँपालिकाले बृहत योग शिविर सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष गणेश खड्काले विशेष सक्रियतामा वडा नं २ को मौवामा सोमबारदेखी सप्ताहव्यापी योग शिविर शुरु भएको हो । पालिका भित्रका नागरिकहरूलाई स्वस्थ बनाउने उद्देश्यले योग शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो। ‘योग गरौं, रहौं निरोगी भन्ने नाराका साथ सुरु भएको योग शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका योग प्रशिक्षक बलदेव जोशी प्रशिक्षण गरिरहनुभएको छ।
आदर्श गाँउपालिका अध्यक्ष खड्काले व्यायामलाई अभिन्न अङ्ग बनाउने, हरेक विद्यालयका बालबालिकाहरूलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरू लागेको दाबीसमेत गर्नु भएको छ। योगको महत्त्व दर्साउँदै उहाँले योगलाई अभियानको रूपमा गाउँ पालिका भित्रका क्रमशः विद्यालयहरूमा योग पुर्याउने बताउनुभएको छ ।शिविरमा बोल्दै उपाध्यक्ष लक्ष्मी धामी रोकायाले नागरिकहरूको जीवन स्वस्थ रहोस् भन्ने उद्देश्यले आदर्श गाँउपालिकाले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम हुने बताउनुभएको छ। दिमागलाई पनि स्वस्थ बनाउने वैज्ञानिक विधि योग रहेको धामीको भनाई छ ।शिविरमा सहभागी हुनसमेत गाउँपालिकावासी सम्पूर्णलाई आग्रह गरिएको छ । फागुन ५ गते शुरु भएको शिविर १० गतेसम्म हरेक दिन बिहान ५ : ३० बजेबाट सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।