डोटीमा साढे १२ हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

धन बोहरा चैत्र ३। डोटीमा१२हजार ५सय ८९ राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएका छन् । सेवाग्राही लिन नआउँदा छपाइ भएर आएका १६हजार ४ सय ३४मध्ये उक्त संख्याको राष्ट्रिय परिचय पत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । एक वर्ष पहिले नै १६हजार ४सय ३४ परिचयपत्र जिल्लामा पुगेको भए पनि ३ हजार ८सय ४५परिचयपत्र मात्रै वितरण भएका छन् । राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचय पत्र प्रदान गर्न मिल्ने प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनुभयो ।

उहाँले राष्ट्रिय परिचय पत्र छपाई भएसकेपछि जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको जानकारी सम्बन्धीत व्यक्तिको मोवाइलमा पुग्ने गरेको बताउनुभयो । उहाँले राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएका धेरै जना वैदेशिक रोजगार तथा अध्ययनका लागि जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचय पत्र लिन नआएको हुन सक्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले डोटीले केही समय अगाडि जिल्ला चारवटा स्थायी तहहरु शिखर नगरपालिका, बोगटानफुड्सिल गाउँपालिका, बढीकेदार गाँउपालिका र जोरायल गाउँपालिका वडाहरूमा पुगेर राष्ट्रिय परिचयपत्र वितरण र नयाँको लागि विवरण संकलन अभियान संन्चालन गरेको थियो। उक्त अभियान खासै प्रभावकारी नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभएको छ।

भौगोलिक विकटता भएका कारणले पनि अत्यावश्यक भएमात्रै राष्ट्रिय परिचयपत्र लिन आउने गरेको बताइएको छ । बैंक खाता खोल्ने लगायतका अत्यावश्यक काममा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको कम्प्युटर अपरेटर बिमल भट्टले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिने भन्दा फाराम भर्नेको संख्या बढी रहेको छ । दैनिक ५० देखि ६०जना सम्म राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । छपाइ भएर जिल्लामा पुगेको परिचय पत्र लिनका लागि १०/१५ जना मात्रै आउने गरेका कम्प्युटर अपरेटर भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.