प्रसाशन द्वारा तिन जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान

डोटी,जिल्ला प्रशासन कार्यालय डोटीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । आईतबार जिल्लाको सायल गाउँपालिका वडा नम्बर १छपालीका जय रोकाया पदम बहादुर रोकाया र कौराडीका प्रेम देउवालाई प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको हो ।अशक्त भएका कारण नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भएकोछ। उहाँहरू मध्ये जय र पदम बहादुर रोकाया अहिलेसम्म नागरिकता नभएकै कारणले राज्यबाट पाउने सेवा सुविधा पाउनबाट बन्चित भएका थिए भने प्रेमले जन्मदर्ताको आधारमा सामाजिक सुरक्षा भत्ता पाइरहनुभएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुनेभएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।” राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनिहरुको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताउनु भएको छ।

नागरिकता प्राप्त गर्ने तिनै जना मानसिक रूपमा अशक्त व्यक्ति हुन् । गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले बताउनुभयो ।

घरमै नागरिकता पाएपछि सेवाग्राहीले खुसी व्यक्त गर्दै प्रशासन कार्यालयलाई धन्यवाद दिएका छन् । अपाङ्गता भएको छोराले नागरिकता पाएपछि निकै खुसी लागेको प्रेमकी आमा सरुदेवी देउवाले बताउनुभयो । नागरिकता प्रदान गर्ने टोलीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, गाउँपालिका उपाध्यक्ष निर्मला ओली, जिल्ला प्रहरी प्रमुख बिनोद शर्मा, कारागार कार्यालय डोटीका प्रमुख जेलर लाल बहादुर बोगटी, वडा अध्य लाल बहादुर रोकाया प्रशासनका कर्मचारी सन्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो।

साथै जिल्ला प्रशासन कार्यालय डोटीले सायल गाउँपालिकामा आजबाट राष्ट्रिय परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य सुरु गरेको छ । दुई वर्षदेखि प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र लिन नआएकाहरूलाई पालिकामै दिने, ६० वर्ष भन्दा माथिका र सामाजिक सुरक्षा भत्ता पाउनेहरूको नयाँ दर्ता गर्ने कार्य सुरु भएको छ । प्रशासन कार्यालयको टोली छ ओटै वडामा परिचय पत्र वितरण तथा नयाँ दर्ता गर्ने कार्य गर्ने छ ।

Leave A Reply

Your email address will not be published.