किरण धामी, डोटी
पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय सिलगढी डोटीको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार सिलगढी स्थित विद्यालयको सभा हलमा आर्थिक वर्ष २०७८/७९ को सामाजिक परीक्षण कार्यक्रममा सम्पन्न भएको हो । वर्षभरि विद्यालयले गरेका विभिन्न गतिविधि, विद्यालयको आम्दानी तथा खर्च, भौतिक अवस्था लगायतका विषयहरू कार्यक्रममा सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सरकारी तर्फ विद्यालयको आम्दानी रु ५ करोड ३ लाख ७२ हजार ४ सय ६५ र खर्च ४ करोड ५ लाख ११ हजार दुई सय ७७ रहेको विद्यालयका लेखापाल गणेश श्रेष्ठले बताए । निजी स्रोत तर्फ रु २० लाख ६९ हजार एक सय १४ आम्दानी हुँदा रु १५ लाख ५४ हजार ३ सय ६ खर्च भएको छ । उमावि तर्फ रु ४१ लख ८६ हजार ९ सय ४१ आम्दानी हुँदा रु १६ लाख ९४ हजार ७ सय २८ खर्च भएको छ । सामाजिक परीक्षण कार्यक्रममा विद्यालयको सामाजिक परीक्षण समितिले तयार पारेको विद्यालयको सम्पूर्ण वस्तुस्थिति प्रस्तुत गरिएको थियो । कार्यक्रम सहभागीहरूले विद्यालयलाई सुझाव दिँदै गुनासा पनि गरेका थिए । गुनासाहरूको विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक लगायत प्रश्नसँग सम्बन्धित व्यक्तिले जवाफ दिएका थिए ।
हाल विद्यालयले कक्षा ८, ९ र १० मा अंरेजी र नेपाली गरी दुई माध्यमबाट पठन पाठन भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक हिक्मत शाहीले बताए । अंरेजी माध्यमबाट पठनपाठन सुरु भएपछि बोर्डिङबाट आउने विद्यार्थीलाई सहज भएको छ ।
विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, गणित प्रयोगशालाका साथै छात्रा होस्टेलको व्यवस्था रहेको प्रधानाध्यापक केशवराज ओझाले बताए । अभिभावक, शिक्षक र विद्यार्थीको सहयोगमा विद्यालयको शैक्षिक अवस्था सुधार गरी उकृष्ट विद्यालय बनाउन हरदम प्रयास गर्ने उनले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिद्धाराज जोशीले विद्यालयले गर्ने आर्थिक सँग सम्बन्धित स–साना कामको पनि सामाजिक परीक्षण गर्ने गरेको बताए । कार्यक्रमबाट प्राप्त सुझावलाई ग्रहण गर्दै कमीकमजोरी सुधार्ने र व्यवस्थापन समिति पार्दशीढंगले काम गरिरहेका उनले बताए ।
नगरपालिकाबाट गर्न सकिने सहयोग गर्नबाट आफू एक पाइला पनि पछाडि नहट्ने दिपायल सिलगढी नगरपालिकाकी उप प्रमुख कल्पना साउँदले बताइन । अहिलेको युगमा शिक्षा सबैका लागि अपरिहार्य रहेकाले किताबी ज्ञान मात्रै नभएर विद्यार्थीलाई बाहिरी ज्ञान दिन आवश्यक रहेको उप प्रमुख साउँदको भनाइ थियो ।
अभिभावकले विद्यार्थीहरूलाई घरमा पढ्ने वातावरण बनाउनु पर्ने जिल्ला समन्वय उप प्रमुख स्मृति चुनाराले बताइन् । अभिभावकलाई उप प्रमुख चुनाराले बालबालिकालाई विद्यालय पठाउने मात्रै नभएर घरमा पनि पढ्न लगाउनुका साथै विद्यालयका गतिविधि बुझ्न आग्रह गरिन् ।
कार्यक्रमको सहजीकरण पत्रकार रोजेन्द्र जोशीले गरेका थिए भने सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक हिक्मत शाहीले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय उप–प्रमुख स्मृति चुनारा, दिपायल सिलगढी नगरपालिकाकी उप–प्रमुख कल्पना साउद, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, विद्यालय शिक्षक अभिभाव सङ्घका अध्यक्ष भरत कठायत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धाराज जोशी, अभिभावक, शिक्षक विद्यार्थी लगायतको रहेको थियो ।
वि।स २००४ सालमा श्री पद्म पब्लिक स्कुलको नामले स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई भइरहेको छ । यस विद्यालयमा वि।स २००४ सालमा ९ कक्षा सम्म र २०१६ साल देखि एसएलसीको पढाई सुरु भएको थियो । २०६६ सालमा डाक्टर मुक्ति नारायण श्रेष्ठले रु १० लाख चन्दा दिए पछि विद्यालयको नाम शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार पद्म पब्लिक मुक्ति नारायण उच्च माद्यामिक विद्यालय रहन गएको थियो । यस विद्यालयमा व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन विषयहरूको पठनपाठन भइरहेको छ ।