डोटीमा १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

डोटीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भको छ । आइतबारबाट दिपायल स्थित दिल्पेश्वर मठमा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गरेका हुन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद समिति डोटीको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका ९ ओटै पालिकाको सहभागिता रहेको छ । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री देउवाले प्रदेश सरकार खेल जगतको विकासका लागि निरन्तर काम गरिरहेको बताए । मन्त्री देउवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारको लगानी वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्राउन र रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताए । प्रदेश सरकारले फागुनमा आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा पनि खेलकुद क्षेत्रलाई विशेष महत्वका साथ उठाउने मन्त्री देउवाले प्रतिबद्धता जनाए । मन्त्री देउवाले खेलकुदका लागि सुदूरपश्चिम प्रदेश उर्वर भूमि रहेको बताए ।

‘सुदूरपश्चिम खेलकुदका लागि निकै उर्वर भूमि हो यस क्षेत्रबाट थुप्रै खेलाडीले विभिन्न ओलम्पिक खेलमा भाग लिएका छन्, मन्त्री देउवाले भने, पछिल्लो पटक राष्ट्रिय क्रिकेट टोलीमा धेरै खेलाडी यसै प्रदेशका रहेका छन् ।’ खेलाडीले राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

यस्तै प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेश सरकार ‘खेलकुद विद्यालय देखि ओलम्पिक सम्म’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको बताए । सांसद ओलीले रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई विद्यालयबाट सुरु गरी ओलम्पिक सम्मको खेल यात्रा तय गर्ने गरी मिहिनेत गर्न आग्रह गरे । गत वर्ष भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता दिपायल सिलगढी नगरपालिकालाई व्यक्तिगत रु १० हजार नगद दिएका सांसद ओलीले यो प्रतियोगिताको विजेतालाई पनि १५ हजार रुपैयाँ हौसला स्वरूप प्रदान गर्ने घोषणा गरे ।

खेल हारजित मात्रै नभई जीवन पनि भएको प्रदेश सांसद चक्र मल्लले बताए । एउटा असल खेलाडीले राष्ट्रको हितलाई मुखकृत गर्ने भएकाले अनुशासित भएर खेल प्रदर्शन गर्न सांसद मल्लले खेलाडीलाई आग्रह गरे । खेल जगतमा पर्याप्त लगानी नभएको बताउँदै सांसद मल्लले जिल्ला खेलकुद समितिलाई विना स्रोत काम गर्नुपर्ने अवस्था रहेको बताए । सांसद मल्लले खेलकुदको विकासको लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.