डोटी : आज असोज ३ गते देशभर संविधान दिवस मनाइँदै छ । ७ वर्ष अघि आजकै दिन संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए । आजको दिनलाई राष्ट्रिय पर्वका रूपमा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
गणतन्त्र, सङ्घीयता, मिश्रित निर्वाचन प्रणाली, समावेशिता, धर्मनिरपेक्षता लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता संविधानका मूल विशेषता हुन् ।
७ वर्षअघि ०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । संविधान जारी भएपछि एकात्मक राज्य व्यवस्थाबाट सङ्घात्मक, केन्द्रीकृत व्यवस्थाबाट समानुपातिक, समावेशी र सहभागितामूलक शासन व्यवस्था, हिन्दु राज्यबाट धर्मनिरपेक्षमा रुपान्त्रित भएको छ । व्यावहारिक रूपमा हेर्दा व्यवस्था परिवर्तन भए पनि राजनैतिक नेतृत्वमा व्याप्त केन्द्रीकृत सोच संविधान कार्यान्वयनको बाधक बनेको छ । यद्यपि, जारी संविधान सर्वस्वीकार्य हुन सकेको छैन । सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट छन् । संविधान दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
डोटीमा पनि विविध कार्यक्रमको आयोजना गरी दिवस मनाईदैछ ।